खोटोबाट मनग्य आम्दानी

जिल्लाका ६३७ सामुदायिक वनमध्ये अघिल्लो वर्ष १९१ वनले ६ खोटो कम्पनीलाई २३ लाख ९८ हजार ६४६ किलो खोटो बिक्री गरेका थिए ।

रोल्पा जिल्लाका सामुदायिक वनले खोटो बिक्री गरी वर्षेनी पर्याप्त आम्दानी गर्ने गरेका छन् ।

खाटो बिक्रीबाट गत वर्ष जिल्लाका १९१ सामुदायिक वनले दुई करोड ३९ लाख ८६ हजार रूपैयाँ आम्दानी गरेका छन् । जिल्लाका ६३७ सामुदायिक वनमध्ये अघिल्लो वर्ष १९१ वनले ६ खोटो कम्पनीलाई २३ लाख ९८ हजार ६४६ किलो खोटो बिक्री गरेका थिए । खोटो बिक्रीबाट सामुदायिक वनका अतिरिक्त स्थानीय तह तथा सङ्घीय सरकारलेसमेत राजस्व सङ्कलन गर्दै आएका छन् । सामुदायिक वनले खोटो निकासी वापत जिल्ला विकास समितिलाई प्रतिकिलो ८० पैसाका दरले ३१ लाख १८ हजार राजस्व बुझाएका थिए ।

यसैगरी मूल्य अभिवृद्धि करबापत सरकारी कोषमा १९ लाख १८ हजार रूपैयाँ जम्मा भएको जिल्ला वन कार्यालयले जनाएको छ । विगतमा जिल्ला विकास समितिलाई उपलब्ध गराउँदै आएको स्थानीय कर अव स्थानीय तहलाई बुझाउनु पर्ने छ । सामुदायिक वनले आम्दानीको ठूलो हिस्सा सामुदायिक विकासमा खर्च गर्ने गरेको सामुदायिक वन उपभोक्ता महासङ्घका जिल्ला अध्यक्ष मनसिं डाँगीले बताए । अधिकांश विद्यालय सञ्चालनको स्रोत सामुदायिक वन भएका छन् ।

जिल्लामा गत असार मसान्तसम्म ६३७ सामुदायिक वन स्थानीय समुदायलाई हस्तान्तरण गरिएको छ । सामुदायिक वनको ६४ हजार ४१८ हेक्टरमध्ये हालसम्म ५० हजार ६१२ हेक्टर समुदायलाई हस्तान्तरण गरिएको जिल्ला वन कार्यालयले जनाएको छ । रासस