दुई ठूला पहाडको खोचबाट सुस्त गतिमा बगेको कालीगण्डकीको पानीमाथि स्टिमर चढेर यात्रा गर्दाको आनन्द बेग्लै हुने गरेकाले पर्यटक रमाउने गरेका छन् ।
पर्वत, गुल्मी र स्याङ्जाको कालीगण्डकी सङ्गमस्थलमा पर्ने मिर्मी जलविद्युत् परियोजनाको बाँधले बनाएको तालमा जल यातायात (स्टिमर) सञ्चालन भएपछि विश्वकै ठूलो शालिग्राम शिला अवलोकन गर्ने आन्तरिक पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ ।
उक्त तालमा स्थानीय जल यातायात व्यवसायीले काठको ढाँचामा ट्रकका इन्जिन उपयोग गरेर बनाइएको स्टिमर सञ्चालन गरेपछि आन्तरिक पर्यटक बढेका हुन् । स्टिमरमा जलयात्रा गर्न र विश्वकै ठूलो शालिग्राम शिलाको अध्ययन अवलोकन गर्नका लागि विभिन्न जिल्लाबाट पर्यटक आउने गरेका छन् ।
पछिल्ला तीन वर्षमा कालीगण्डकी करिडोरअन्तर्गतको हर्मिचौर–पूर्तिघाट सडक सञ्चालन भएपछि जलयात्रा गर्नेको सङ्ख्या घटेको भए पनि जलयात्राको आनन्द लिनका लागि आन्तरिक पर्यटकको सङ्ख्या भने थपिँदै गएको छ । दैनिक ४ सयभन्दा बढी विद्यार्थी मिर्मी परियोजना, स्टिमर यात्रा र सेतीवेणी शिला अवलोकनका लागि आउने गरेका छन् । शैक्षिक भ्रमणको गन्तव्य नै बन्ने गरेको छ । हिजोआज भारतीय पर्यटक तथा तीर्थयात्री पनि शालिग्राम शिलाको दर्शन गर्न आउने गरेका छन् ।
स्थानीय व्यवसायीको पहलमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ सो क्षेत्रमा स्टिमर सञ्चालनमा ल्याइएको हो । स्थानीय व्यवसायी प्रेम अर्याल भन्छन्, ‘गाडीबाट भन्दा स्टिमरबाटै ढुवानी र यात्रा सस्तो पर्ने भएकाले सडक विस्तार भएपछि पनि स्टिमर सेवा निरन्तर चलिरहेको छ । गाडीमा प्रतिकिलो रु. तीन पर्ने ढुवानी भाडा एक रुपैयाँमा झरेको छ ।’
स्याङ्जाको मिर्मीस्थित कालीगण्डकी ‘ए’ को बाँधदेखि पर्वत, गुल्मी र स्याङ्जाको सङ्गममा अवस्थित प्रसिद्ध धार्मिकस्थल सेतीवेणी बजारसम्म झन्डै सात किमी दूरीमा कालीगण्डकीको बाँधमा स्टिमर सेवा सञ्चालनमा छ । दुई ठूला पहाडको खोचबाट सुस्त गतिमा बगेको कालीगण्डकीको पानीमाथि स्टिमर चढेर यात्रा गर्दाको आनन्द बेग्लै हुने गरेकाले पर्यटक रमाउने सेतीवेणी होटलका सञ्चालक शोभाखर तिवारीले बताए । स्टिमरका कारण दैनिक उपभोग्य सामग्रीको मूल्य पनि घटेको छ । ‘स्टिमर चलेपछि सेतीवेणी बजारमा चहलपहल बढेको छ’, उनले भने ।
कालीगण्डकी जलविद्युत् परियोजनाका प्राविधिक मुक्तिराम पाण्डे भन्छन्, ‘सय रुपैयाँ भाडामा बढीमा आधा घण्टामा सात किमी यात्रा सकिन्छ’, उनी थप्छन्, ‘स्टिमरमा हिँड्नु नेपालकै नौलो यात्रा अनुभव हो ।’ काठले बनेका, इन्जिनबाट चल्ने यस्ता स्टिमर अन्यत्र नरहेकाले पनि यसमा बसेर यात्रा गर्नेहरू रमाउने गरेको उनको भनाइ छ ।