नयाँ प्रविधिबाट हाते कागज

परम्परागत प्रविधिबाट दैनिक सय थान कागज उत्पादन हुने गरेकामा यन्त्रको प्रयोगले दैनिक ४ सय थान कागज उत्पादन हुने गरेको छ ।

बागलुङका उद्यमीले घरेलु प्रविधिको विकल्पमा आधुनिक यन्त्र प्रयोग गरेर नेपाली हाते कागज उत्पादन गर्न थालेका छन् । जिल्लाको पहिचान भनेर चिनिने नेपाली हाते कागजलाई आधुनिकीकरण गरिएको हो ।

ताराखोला गाउँपालिका–५ मा यन्त्रको प्रयोगबाट लोक्ता प्रशोधन र उत्पादन हुने गरेको छ । यसअघि लोक्तालाई काठको मुङ्ग्रोले थिचेर कागज निकाल्ने गरिन्थ्यो । परम्परागत प्रविधिबाट दैनिक सय थान कागज उत्पादन हुने गरेकामा यन्त्रको प्रयोगले दैनिक ४ सय थान कागज उत्पादन हुने गरेको छ । जुल्फे सामुदायिक लोक्ता प्रशोधन तथा नेपाली कागज उत्पादन समूहका अनुसार आधुनिक प्रविधिको प्रयोगले उत्पादनको मात्रा र गुणस्तर बढेको छ । समूहमा आबद्ध ६ जना उद्यमीले अहिले नियमित कागज उत्पादन गरिरहेको समूहका अध्यक्ष खिमलाल कँडेलले बताए ।

केही समयअघि भक्तपुर हस्तकला केन्द्रले गाउँमै पुगेर २१ जना स्थानीयवासीलाई हाते कागज उत्पादनसम्बन्धी तालिम दिएको थियो । ’उत्पादन बढेसँगै मागमा पनि वृद्धि भएको छ’, उनले भने, ’यान्त्रिकीकरणले नेपाली कागज लोप हुनबाट जोगिएको छ ।’ नेपाली कागजको उत्पादन र प्रवद्र्धनलाई सघाउन बहुसरोकारवाला वन कार्यक्रमले उद्यमीलाई एक थान लोक्ता प्रशोधन गर्ने यन्त्र उपलब्ध गराएको छ । यस्तै, बागलुङ उद्योग वाणिज्य सङ्घले ‘एक गाउँ एक उत्पादन’ कार्यक्रमअन्तर्गत एक थान कागज काट्ने आधुनिक यन्त्र उपलब्ध गराएको छ ।

फुर्सदको समयमा लोक्ता सङ्कलनका लागि जङ्गल जाने किसान पनि उत्पादनको माग बढेपछि खुसी छन् । स्थानीय किसानले सङ्कलन गरेको लोक्ता प्रतिकिलो ४ सयमा समूहले खरिद गर्ने गरेको छ । उत्पादितमध्ये थोरै मात्र स्थानीयस्तरमै खपत भए पनि अधिकांश कागज भक्तपुर हस्तकलाले खरिद गर्ने गरेको छ ।