कृषिका काम नगर्ने निकाय हटाउँछौं — मन्त्री खनाल

कृषि तथा पशु विकास मन्त्रालयअन्तर्गतका दर्जनभन्दा बढी निकाय रहेपनि सक्रियतापूर्वक काम गर्न नसक्ने निकाय हटाउन सकिने बताएका हुन् ।

कृषि तथा पशुपक्षी मन्त्री चक्रपाणि खनालले कृषि मन्त्रालयअन्तर्गत रहेका केही निकायहरु निकम्मा भएको भन्दै त्यस्ता निकायलाई हटाउने बताएका छन् । राष्ट्रिय किसान आयोगको दोस्रो वार्षिक प्रगति समीक्षा कार्यक्रमका अवसरमा उनले यस्तो बताएका हुन् । कृषि तथा पशु विकास मन्त्रालयअन्तर्गतका दर्जनभन्दा बढी निकाय रहेपनि सक्रियतापूर्वक काम गर्न नसक्ने निकाय हटाउन सकिने बताएका हुन् ।

उनले मन्त्रालयअन्तर्गतका त्यस्ता निकायहरुले गर्ने काम, कर्तव्य र जिम्मेवारी नगरेको मन्त्री खनालको तर्क थियो । उनले त्यस्ता निकायहरुको पनि आयोगले निरन्तर अनुगमन र सचेत बनाउनुपर्ने बताए । ‘हाम्रा निकाय निकम्मा देखिन्छन् । निकायले त काम, कर्तव्य र अधिकार पूरा गर्नैपर्छ । तर, निकम्मा भएका छन् । त्यस्ता निकायलाई आयोगले अनुगमन गर्नुप¥यो । झकझकाउनु प¥यो,’ उनले थपे, ‘त्यसपछि पनि सुध्रेनन् भने हटाउँछौँ ।’

उनले मलको अभाव हटाउन, विषादिको प्रयोग, छाडा चौपाया नियन्त्रणका विषयमा प्रतिनिधि सभामा कुरा उठिरहेकाले त्यसको समाधानका लागि ठोस योजना बनाइने बताए । उनले अहिलेको कृषियोग्य जमिन खण्डीकरण गर्न नहुने बताए । जमिनको भूउपयोग नीतिअन्तर्गत चक्लाबन्दी र सहकारीमार्फत् सामूहिक रुपमा खेती गर्न जमिनको व्यवस्थापन गर्न सकिने बताए । कृषि प्रणालीको व्यवसायीकरण, आधुनिकीकरण र बजारीकरण गर्नुपर्ने आवश्यकता रहेको मन्त्रीको तर्क थियो । उनले विदेशमा रहेका ३० हजार युवाहरुलाई स्वदेशमै रोजगारीको वातावरण कृषि माध्यमबाट नै गर्न सकिने भएकाले त्यसका लागि कसरी र कुन खालको रोजगारी दिने भन्ने योजना बन्नुपर्ने बताए ।

कार्यक्रममा कृषि राज्यमन्त्री रामकुमारी चौधरीले आयोगले मन्त्रालयलाई सचेत गराउनुपर्ने बताइन् । उनले पाँच वर्षमा कृषि उत्पादन दोब्बर बनाउने लक्ष्य पूरा गर्न आयोगको पनि महत्त्वपूर्ण भूमिका रहेको बताइन् । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव युवकध्वज जीसीले मन्त्रालयको कार्यक्षेत्र बृहत् रहेको भन्दै मौरीदेखि चौरीसम्म र च्याउदेखि स्याउसम्मको उत्पादन र उत्पादकत्व वृद्धि गर्न आयोगको भूमिका पनि महत्त्वपूर्ण रहेको बताए । सो अवसरमा पूर्व कृषिमन्त्री केशव बडाल, राष्ट्रिय योजना आयोगका पूर्व अध्यक्ष पुष्प कडेँल, राष्ट्रिय सभासदस्य बलराम बास्कोटा, किसान सङ्गठन प्रमुख डीबी कार्की, राष्ट्रिय किसान सञ्जालका तर्फबाट शिवहरि खनाललगायतले बोलेका थिए ।

कार्यक्रममा आयोगका सदस्य दुर्गाप्रसाद दवाडीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्देश्यमाथि आयोग सदस्य भानुभक्त सिग्देलले मन्तव्य राखेका थिए ।