मध्यम करदाता कार्यालयको औपचारिक उद्घाटन गर्दै खतिवडाले सम्पूर्ण नेपालीलाई अब करको दायरामा ल्याउने समय आइसकेको बताएका हुन् ।
अर्थमन्त्री डा. युवराज खतिवडाले सम्पूर्ण नेपालीलाई करको दायरामा ल्याउन आवश्यक रहेको बताएका छन् । मध्यम करदाता कार्यालयको औपचारिक उद्घाटन गर्दै खतिवडाले सम्पूर्ण नेपालीलाई अब करको दायरामा ल्याउने समय आइसकेको बताएका हुन् । तर, अर्थमन्त्री खतिवडाले करको दायरामा ल्याउनुको अर्थ सबैले कर तिर्नुपर्ने नभएको बताए ।
उनले करको दायरमा आउने बित्तिकै कर तिर्नु नभई कर सङ्कलनका लागि सरकारलाई सहयोग गर्ने भएकाले सबै नेपालीलाई करमा संलग्न हुनुपर्ने बताए । सबै व्यवसायीलाई समान अर्थमा समान कर लगाइने भएकाले साना करदातालाई हौसला प्रदान गर्दै ठूला करदाताको हैसियतमा पुर्याउनु पर्ने बताउँदै उनले भने, ‘अहिले सङ्घीय संसदमा पारित भएको नैतिक अधिकार पूरा गर्न राजस्व अनिवार्य छ ।’
खतिवडाले करयोग्य व्यवसायलाई औपचारिकीकरण गर्दै लानु पर्ने बताउँदै करको दायरामा ल्याउनुको अर्थ सबैले कर तिर्नुपर्छ भन्ने नभएको उनको भनाइ थियो ।
नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले सरकारले करको दरभन्दा पनि दायरा बढाएर अगाडि बढ्नु पर्ने बताए । उनले साना साना व्यवसायलाई सरकारले साथ लिएर जान सके त्यसबाट फाइदा हुने विचार व्यक्त गर्दै सबैलाई करको दायरामा ल्याउन आवश्यक रहेको बताए ।