जलविद्युत् क्षेत्रमा पछिल्लो दिनमा विकास भएका नयाँनयाँ प्रविधिबारे समेत जानकारी दिने लक्ष्यका साथ प्रदर्शनी आयोजना गर्न लागिएको हो ।
जलविद्युत् क्षेत्रमा लगानी, उत्पादन तथा प्रविधिबारे जानकारी दिने उद्देश्यले स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इपान)ले पुस २१ देखि २३ गतेसम्म ‘हिमालयन हाइड्रो एक्स्पो २०१८’ को आयोजना गर्ने भएको छ ।
जलविद्युत् क्षेत्रमा पछिल्लो दिनमा विकास भएका नयाँनयाँ प्रविधिबारे समेत जानकारी दिने लक्ष्यका साथ प्रदर्शनी आयोजना गर्न लागिएको इपानका अध्यक्ष शैलेन्द्र गुरागाईंले मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । प्रदर्शनीले जलविद्युत्को विकास र विस्तारमा सहयोग पुग्ने आशा गरिएको छ ।
प्रदर्शनीमा जलविद्युत् उत्पादनकर्ता, सामान आयात गर्ने संस्था वा निकाय, परामर्शदाता, बिमा कम्पनी, लगानीकर्ता तथा बैङ्क र वित्तीय संस्थाका प्रतिनिधिको सहभागिता रहनेछ । उक्त प्रदर्शनीमा नेपाल, चीन, भारत, नर्वे, दक्षिण कोरिया, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्वीडेन, बेलायत, ब्राजिललगायत मुलुकका कम्पनी तथा सरोकारवालाहरु सहभागी हुनेछन् ।
सरकारले आगामी १० वर्षमा १७ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको सन्दर्भमा ठूलो लगानी आवश्यक पर्ने भएकाले बैङ्क तथा वित्तीय संस्थालाई यथार्थ जानकारी दिएर लगानीका लागि अभिप्रेरित गर्न खोजिएको आयोजकले बताए ।
नेपाल विद्युत् प्राधिकरण र निजीक्षेत्रबीच तीन हजार ५ सय मेगावाट क्षमताका आयोजनाबीच विद्युत् खरिद सम्झौता भइसकेको छ । ती आयोजना हाल निर्माणको चरणमा छन् । यस्तै सरकारी लगानीका करिब पाँच हजार मेगावाट क्षमताका आयोजना निर्माणका क्रममा छन् ।
स्वदेशी लगानीमा विद्युत् उत्पादनलाई गति दिन जरुरी रहेको भन्दै इपानले सरकारसँग मिलेर प्रदर्शनीको आयोजना गरेको इपानका पूर्वअध्यक्ष खड्गबहादुर विष्ट बताउँछन् । प्रदर्शनीलाई राष्ट्रिय योजना आयोग, ऊर्जा मन्त्रालय र जनसङ्ख्या तथा वातावरण मन्त्रालयको संरक्षकत्व छ । प्राधिकरण, नेपाल उद्योग वाणिज्य महासङघ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्स, नेपाल बैङ्कर्स एसोसिएसन र युथ कम्युनिटी फर कन्ट्राक्टर्सले सहयोग गरेका छन् । तीन दीनसम्म चल्ने प्रदर्शनी ५० हजारभन्दा बढी नागरिकले अवलोकन गर्ने अनुमान गरिएको छ । नेपालमा उत्पादन भएको विद्युत् भारत, चीन र बङ्गलादेशसम्म व्यापार गर्ने लक्ष्य राखिएको सन्दर्भमा बजारको खोजी तथा विस्तारलाई केन्द्रमा राखिएको आयोजकले जानकारी दिएका छन् ।
जलविद्युत् आयोजनाको महत्त्वपूर्ण कार्यका रुपमा लिइने सुरुङ निर्माणमा टनेल बोरिङ मेसिन (टीबीएम)को प्रयोगका सम्बन्म्धमा समेत प्रदर्शनीमा विशेष जानकारी दिइने अध्यक्ष गुरागाईंले बताए ।