स्वदेशी चिनी नबिकेपछि भारतबाट नल्याउन उद्योगीलाई सरकारको आग्रह

भारतबाट सस्तो मूल्यमा आयातित चिनीले बजार पाउन थालेपछि यहाँको चिनी नबिकेको हो । फलस्वरुप, चिनी गोदाममै थन्किएपछि उद्योगीहरुले किसानलाई उखुको बक्यौता पनि भुक्तानी गरेका छैनन् ।

स्वदेशी उद्योगको चिनी नबिकेपछि सरकारले भारतबाट चिनी नल्याउन व्यवसायीलाई आग्रह गरेको छ । भारतबाट सस्तो मूल्यमा आयातित चिनीले बजार पाउन थालेपछि यहाँको चिनी नबिकेको हो । फलस्वरुप, चिनी गोदाममै थन्किएपछि उद्योगीहरुले किसानलाई उखुको बक्यौता पनि भुक्तानी गरेका छैनन् । हिजो आइतबार राति बसेको मन्त्रिपरिषद्को बैठकले भारतबाट आयात हुने चिनी तत्काल नल्याउन उद्योगीलाई निर्देशन दिएको छ ।

बैठकले उखु किसानलाई सरकारले दिने अनुदानको ग्यारेन्टी गर्ने निर्णय पनि गरेको छ । यस्तो अनुदान प्रतिक्विन्टल ६५ रुपैयाँ दिइने छ । अर्थात् किसानले उखु बिक्री गरेपछि सरकारले अग्रिम रुपमा उखुको खरिद परिमाण तथा लागतका आधारमा अनुदान सम्बन्धित चिनी उद्योगमार्फत् किसानको खातामा अनुदान रकम जम्मा गर्ने व्यवस्था मिलाइने भएको हो ।

उखु किसानले लागत र मुनाफाको आधारमा सरकारले तोकिदिएको मूल्य र अनुदान पाउन नसकेको उखु किसान सङ्घका अध्यक्ष कपिलमणि मैनालीले जानकारी दिए । उनले चिनी उद्योगीले स्वदेशी चिनीलाई बिक्री नभएको बहाना बनाउँदै उखु किसानालाई भुक्तानी नदिएको गुनासो गरे । उनका अनुसार यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री डा. युवराज खतिवडालाई संयुक्त रुपमा भेटी उखु किसानले भुक्तानी र अनुदान नपाएको तथा अन्य ऋणको व्यवस्था नभएको गुनासो राखेका थिए । भेटका क्रममा प्रधानमन्त्री ओलीले तोकिएको उखुको मूल्य, अनुदान र सुलभ ऋण उपलब्ध गराउन पहल गर्ने बताएका थिए ।

अहिलेसम्म पनि किसानले उखुको मूल्य पाउन सकेका छैनन् । विभिन्न चिनी उद्योग तथा मिलहरुले किसानबाट उखु खरिद गरी झन्डै ४ अर्ब रुपैँया बक्यौता रकम भुक्तानी गर्न बाँकी छ । तर, चिनी उद्योगीहरु चिनी नबिकेको भन्दै किसानलाई अल्झाइरहेका छन् ।

अहिले झन्डै १ लाख २२ हजार टन स्वदेशी चिनी नबिकेर त्यत्तिकै थन्किएको छ । भारतबाट आयात भएको २ लाख ४० हजार टन चिनी पनि बिक्री हुन सकेको छैन । सरकारले चिनीको आयात कम गर्न ३० प्रतिशत भन्सार तोकिए पनि आयात नरोकिएको अध्यक्ष मैनालीको तर्क छ ।