हस्तकला उद्योग फस्टाउँदै गएपछि रोजगारी सिर्जना गर्न महत्वपूर्ण भूमिका खेलेको छ । आफै सीप सिकेर स्वउद्यम हुने भएकाले रोजगारीसँगै आयआर्जन वृद्धिमा पनि टेवा पुगेको हो ।
हस्तकला उद्योगमा करिब ११ लाखले रोजगारी पाएको नेपाल हस्तकला उद्योग महासङ्घले जनाएको छ । नेपाली कागजका सामग्री, कपडा, बुटिक, सुन, चाँदीका गहना, धातुजन्य सामान, ह्यान्डमेड पेपर, काष्ठकलाका सामान, छालाका सामान, इन्सेन्स, थान्का, हाड र सिङबाट निर्मित वस्तु, सेरामिक्स, बासका सामान,प्लास्टिक, क्रिस्टलका सामान बनाउने उद्योगमा रोजगारी सृजना भएको छ ।
रोजगारीसँगै स्थानीयको आयआर्जनमा पनि टेवा पुगेको हस्तकला महासंघका महानिर्देशक गोविन्दप्रसाद रेग्मीले बताए । ‘हस्तकला स्वरोजगारमूलक उद्योग हो,’ रेग्मीले भने,‘ नेपालको हस्तकलाले मुलुकको अर्थतन्त्रमा ठूलो टेवा पु¥याएको छ ।’
सानो लगानीमा हाते सीपको प्रयोग गरी सञ्चालन गर्ने भएकाले परिवारका सदस्यहरुले रोजगारी प्राप्त गरेका छन् । त्यसबाट अर्बौ रुपैयाँ आम्दानी गरेका छन् ।
हस्तकलाको वार्षिक १० अर्ब रुपैयाँ कारोबार हुने महासंघका अध्यक्ष धर्मराज शाक्यले बताए । स्वदेशी तथा विदेशी बजारमा हस्तकलाका सामानप्रति सबैको आकर्षण बढेपछि हस्तकला उद्योग फस्टाएको शाक्य बताउँछन् । हस्तकलाका सामान स्वदेशी तथा विदेशी बजारमा डेकोरेसनको लागि प्रयोग हुन थाले पछि अवसर वृद्धि भएको हो । थोरै लगानीमा परम्परागत सीपको प्रयोग हुने भएकाले पुस्तौली पेसाको रुपमा पनि यसलाई लिएका छन् ।
अधिकांसले आफै उद्योग संचालन गरेका छन् भने केही उद्योगीले लगानी गरेर रोजगारी समेत दिएका छन् । हस्तकलाका सामान निर्यात हुने क्रम पनि बढिरहेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा चार करोड रुपैयाँ धेरैको सामान निर्यात भएको थियो ।
आर्थिक वर्ष ०७२÷७३मा ४ अर्ब ७६ करोड २४ लाख ६० हजार रुपैयाँ बराबरको सामान विदेशी बजारमा बिक्री भएकोमा आर्थिक वर्ष०७३÷०७४ मा ४ अर्ब ८० करोड मूल्य बराबरको हस्तकलाका सामान निर्यात भएको थियो ।
सबैभन्दा धेरै सामान अमेरिकी बजारमा जान्छ । अमेरिकामा एक अर्ब ५६ करोड चीनमा ६७ करोड ४७ लाख रुपैयाँका सामान निर्यात भएको छ । कुल निर्यातको ३० प्रतिशत हिस्सा अमेरिकी बजारमा छ । ‘अमेरिकी बजारमा नेपाली हस्तकलाको राम्रो प्रभाब रहेको छ,’ महानिर्देशक रेग्मीले भने, ‘गुणस्तरीय र नयाँ–नयाँ डिजाइन गर्न सके सजिलै बिक्री गर्न सकिन्छ ।’ यसले मुलुकको व्यापार घाटा कम गर्न सघाएको छ ।
जर्मनीमा ४३ करोड ७१ लाख, जापानमा ३५ करोड रुपैयाँका सामान निर्यात भएको निर्यात तथा व्यापार प्रवद्र्धन केन्द्रले जनाएको छ । महासंघका अनुसार अमेरिका, युरोप, बेलायत, जर्मनी, फ्रान्स, फिलिपिन्स, क्यानडा, कुवेत, जापान, चीन, भारतलगायत ८० भन्दाबढी मुलुकमा हस्तकलाका सामान बिक्री हुन्छ । ती देशमा यसको व्यापार बिस्तार गर्ने सम्भाबना छ ।
मुलुकमा एक दर्जन बढि हस्तकलाका जिल्लागत र वस्तुगत संघ रहेका छन् । काठमाडौं, ललितपुर, भक्तपुर, बागलुङ, दाङ, धनुषा, झापा, पाल्पा, कास्की, ललितपुर, लमजुङ, मकवानपुर, म्याग्दी, रामेछाप, संखुवासभा लगायतका जिल्लामा बढिमात्रमा हस्तकलाका समान तयार हुन्छ ।
कतिपयले सीप नपाएको कारण चाहेर पनि यो व्यवसायमा आउन सकेका छैनन् । राज्यले आवश्यक अनुसार निःशुल्क तालिम सञ्चालन गरे यो क्षेत्रमा रोजगारी पनि बढ्ने अपेक्षा गरिएको छ । मौलिक कलाको संरक्षण, कलाकारको उत्थान, लोपोन्मुख कलाकृतिको जगेर्ना, मौलिक कलालाई विकसित गरी प्रविधिको प्रयोग गर्न सके रोजगारी र निर्यात वृद्धि हुँदै जाने महासंघले जनाएको छ ।