खानी सञ्चालनका लागि जग्गा लिँदा लिजकोे भाडा, नाफाको एक प्रतिशत दस्तुर र खानीले ओगटेको क्षेत्रफलबराबरको जग्गा किनेर सरकारलाई दिनुपर्ने बाध्यात्मक नियम छ । यस्तो नियमले नयाँ लगानी गर्न व्यवसायीलाई निरुत्साहित गरेको छ ।
एउटै प्रयोजनका लागि लिइएको जग्गामा सरकारले व्यवसायीलाई तेहोरो मर्का पारिरहेको छ । खानी सञ्चालनका लागि जग्गा लिँदा लिजकोे भाडा, नाफाको एक प्रतिशत दस्तुर र खानीले ओगटेको क्षेत्रफलबराबरको जग्गा किनेर सरकारलाई दिनुपर्ने बाध्यात्मक नियम छ । यस्तो नियमले नयाँ लगानी गर्न व्यवसायीलाई निरुत्साहित गरेको छ ।
खानी सञ्चालनका लागि व्यवसायीले सरकारसँग लिजमा जग्गा लिएका हुन्छन् । जग्गा उपलब्ध गराएबापत व्यवसायीले उक्त जग्गाबराबरको अर्को जग्गा, नाफाको एक प्रतिशत र खानीले चर्चेको जग्गाको भाडा बुझाउनु पर्ने बाध्यता छ ।
सरकारको यस्तो व्यवस्थाकै कारण लगानी निरुत्साहित भएको व्यवसायीहरुले बताएका छन् । ‘एउटै काम गर्दा तीन ठाउँमा रकम बुझाएर कसरी व्यवसाय सञ्चालन गर्न सकिन्छ ?’ सिमेन्ट उत्पादक सङ्घका अध्यक्ष ध्रुव थापाले भने, ‘यस्तो व्यवस्था छिचलेर कसरी व्यवसाय गर्न सकिन्छ ?’
उनका अनुसार उद्योग वा खानी सञ्चालनको भोगाधिकार लिनुपर्छ । खानी वा उद्योग क्षेत्रमा एक रुख काटेबापत २५ रुख रोप्नुपर्छ । ‘त्योसम्म पनि ठिकै छ,’ थापाले भने, ‘तर, जग्गा प्रयोग गरेबापत जग्गा, भाडा र नाफाको एक प्रतिशत राज्यलाई बुझाउनुपर्ने व्यवस्थाले हामी तेहोरो मारमा परेका छौं ।’ राजस्व बुझाउनुपर्ने व्यवस्था छुट्टै छ । तर, वनलाई नाफाको एक प्रतिशत किन बुझाउनु पर्ने ? उनले प्रश्न गरे ।
सरकारले व्यावसायिक वातावरण बनाएको बताए पनि व्यावहारिक रुपमा यस्ता समस्या हल नभएकाले लगानी नबढेको उनको भनाइ छ । ‘सरकारले नीतिगत रुपमा लगानीको वातावरण बनाउनु पर्छ, ’लक्की ग्रुपका अध्यक्ष सतिश मोरले भने, ‘भाषणमा लगानीको वातावरण बनाएर हुँदैन्, लगानीकर्ताले नीति हेरेर लगानी गर्ने हो ।’
अहिले भएका नीति अत्यन्तै अव्यावहारिक भएकाले लगानीकर्ता आकर्षित नभएका हुन् । ‘हरेक क्षेत्रमा नीतिगत समस्या छन्, त्यस्ता नीतिलाई समायानुकूल बनाउनुपर्छ,’ उनले भने, ‘तर, अहिले लगानीमैत्री नीति ल्याउन सरकार चुकेको छ ।’
उद्योग मन्त्रालयका सचिव यामकुमारी खतिवडाले नीतिगत समस्या भएकोे र त्यस्ता नीतिलाई संशोधन गर्न उद्योग मन्त्रालय लागेको बताइन् । ‘केही नीतिगत समस्या छन्,’ उनले भनिन्, ‘त्यसलाई समायानुकूल बनाउने तयारीमा जुटेका छौं ।’