भुलचुकमा कार्बाही हुन्न, जानाजान गरे छोड्दिनः प्रधानमन्त्री ओली

नेपाल निर्माण व्यवसायी महासङ्घको २० औं साधारण सभाको उद्घाटन समारोहलाई सम्बोद्धन गर्दै प्रधानमन्त्री ओलीले देशको ६० प्रतिशत बजेट निर्माण क्षेत्रमा खर्च हुने भएकाले त्यसमा कुनै खेलाँची नगर्न व्यवसायीहरुलाई आग्रह गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले जानजान कुनै निर्माण व्यवसायीले गल्ती गरेमा त्यस्ता व्यवसायीलाई कार्बाहीको दायरामा ल्याउने बताए । अहिलेको मुलुकी ऐनसँग कुनैपनि निर्माण व्यवसायी डराउनु पर्ने अवस्था नरहेको बताउँदै भुलचुकमा भएको गल्तीलाई सरकारले माफी दिने बताए ।

नेपाल निर्माण व्यवसायी महासङ्घको २० औं साधारण सभाको उद्घाटन समारोहलाई सम्बोद्धन गर्दै प्रधानमन्त्री ओलीले देशको ६० प्रतिशत बजेट निर्माण क्षेत्रमा खर्च हुने भएकाले त्यसमा कुनै खेलाँची नगर्न व्यवसायीहरुलाई आग्रह गरे । ‘निर्माणबिना विकास सम्भव छैन,’ प्रधानमन्त्री ओलीले भने, ‘समृद्ध नेपाल र सुखी नेपालीको नारालाई सार्थक बनाउने जिम्मा तपाईंहरुकै काँधमा छ ।’

देश निर्वाचनमा होमिएका बेला मुलुकी ऐन बनेकाले केही त्रुटि भएको महसुस आफूले पनि गरेको बताउँदै एक आपसमा छलफल गरी ती बुँदाहरु सच्याउन सकिने प्रधानमन्त्री ओलीको भनाइ छ । छलफलपछि हटाउन र सच्याउन मिल्ने बुँदाहरु तत्कालै परिवर्तन गर्ने बताए ।

पछिल्ला समय केही निर्माण व्यवसायीहरुले निर्माणको जिम्मेवारी लिने र २० प्रतिशत सञ्चालन खर्च लिएर बेपत्ता हुनेहरुको कारण केही विकृति फैलिएको प्रति दुख व्यक्त गरे । निर्माण व्यवसायीले काम गर्दा गर्दै पनि समय सकिएको कारण समस्यामा परेका निर्माण व्यवसायीको म्याद थप्न सरकार तयार रहेको बताए । तर त्यसका लागि निर्माण कम्पनीको प्रगति राम्रो हुनुपर्छ ।