२० मेगावाट क्षमताको सो आयोजनाले गत वर्षकै असारमा उत्पादन गर्ने भनिए पनि दसैंअघि मात्र उत्पादन गर्ने जनाएको हो ।
पर्वत जिल्लामा निर्माण भइरहेको तल्लो मोदी जलविद्युत् आयोजनाले दसैंअघि उत्पादन सुरु गर्ने बताएको छ । २० मेगावाट क्षमताको सो आयोजनाले गत वर्षकै असारमा उत्पादन गर्ने भनिए पनि दसैंअघि मात्र उत्पादन गर्ने जनाएको हो ।
स्थानीयवासीको अवरोध र प्राकृतिक प्रकोपलगायतका कारणले निर्माणमा ढिलाइ भएको र तोकिएको मितिमा निर्माण हुननसकेको भनाइ आयोजनाको छ । आयोजनाले ६० महिनामा उत्पादन सुरु गर्ने लक्ष्य लिएर विसं २०६९ साउनमा काम थालेको थियो । “वर्षामा पहिरो जाने, भासिने र आयोजनाभित्रै बाढी पस्नेजस्ता प्राकृतिक जटिलताका कारण उत्पादन तोकिएको मितिमा हुन सकेन” आयोजना प्रमुख पवनकुमार यादवले भने, “अब हामी छिट्टै नै उपलब्धि देखिने गरी काम गर्दैछौँ ।”
उनले निर्माणकै क्रममा देशमा विभिन्न चरणका चुनाव भएको र सोका कारण समेत काम समयमै सक्न केही ढिलाइ भएको स्वीकार गरे । अहिले काम तीव्र गतिमा भइरहेको र दसैंअगाडि सक्नेमा शङ्का नगर्न उनले आग्रह गरे ।
आयोजनाको वार्षिक ११ करोड ७० लाख युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य छ । कुश्मा नगरपालिका र मोदी गाउँपालिका यो आयोजनाका प्रभावित क्षेत्र हुन् । मोदी गाउँपालिकाको तिलाहारबाट चार हजार २०० मिटर लामो सुरुङ बनाएर आयोजनाको पावरहाउस कुश्मा नगरपालिका–८ परादीमा राखिएको छ ।
तीन अर्ब ६० करोड रूपैयाँको लागत स्टिमेटमा निर्माण सुरु भएको आयोजनाले निर्धारित समयमा उत्पादन दिन नसकेपछि लागत बढदै गएको छ । आयोजनाको अहिले ९५ प्रतिशत काम सकिएको छ । रासस