मिर्गाैला, क्यान्सर र स्पाइनल इन्जुरीका बिरामीलाई मासिक ५ हजार

बैठकले अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख तथा सहसचिव वैकुण्ठ अर्याललाई सचिव पदमा कायममुकायम गर्दै राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सचिवको जिम्मेवारी पनि दिएको छ ।

सरकारले गम्भीर प्रकृतिका अशक्त बिरामीलाई मासिक पाँच हजार जीविकोपार्जन भत्ता दिने भएको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले दुवै मिर्गाैलाले काम नगर्ने, क्यान्सरका रोगी र स्पाइनल इन्जुरी भई प्यारालाइसिस भएका अशक्त बिरामीलाई मासिक पाँच हजार रुपैयाँ भत्ता उपलब्ध गराउने निर्णय गरेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदले गरेको निर्णय आफ्नो ट्विटमार्फत जानकारी गराएका छन् ।

यस्ता बिरामीले काम गर्न नसक्ने र उनीहरुको रेखदेखमा अरु साङ्ग व्यक्ति पनि खट्नुपर्ने हुँदा यस्ता गम्भीर प्रकृतिका बिरामी भएका घरपरिवारका सदस्य निकै समस्यामा पर्ने गर्छन् । सरकारको यो निर्णय कार्यान्वयनसँगै गम्भीर प्रकृतिका बिरामीहरुका परिवारसमेतलाई सामान्य भएपनि राहत मिल्ने छ ।

मन्त्रिपरिषदको बैठकले व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनाको पहिलो चरणको असल अभ्यासलाई संस्थागत रुपमा कार्यान्वयन गर्दै थप सुदृढ र प्रभावकारी बनाउन विश्व बैङ्कले दोस्रो चरणका लागि दिने भनिएको ६ अर्ब २१ करोड रुपैयाँबराबरको ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । त्यसैगरी काठमाडौं विश्वविद्यालयमा अनुसन्धान तथा विकास केन्द्र स्थापना गर्न कोरिया सरकारले उपलब्ध गराउने १ अर्ब ४ करोड रुपैयाँबराबरको अनुदान सहयोग पनि स्वीकार गर्ने मन्त्रिपरिषदले निर्णय गरेको छ ।

बैठकले डा. पुष्पा चौधरीलाई स्वास्थ्य मन्त्रालयको सचिवमा नियुक्त गरेको छ । यसैगरी बैठकले अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख तथा सहसचिव वैकुण्ठ अर्याललाई सचिव पदमा कायममुकायम गर्दै राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सचिवको जिम्मेवारी पनि दिएको छ । त्यसैगरी रानीपोखरी पुनःनिर्माणमा देखिएको विवाद समाधानका लागि पुरातत्व विभागले स्वीकृत गरेको मापदण्ड बमोजिम नै निर्माण गर्न सरकारले काठमाडौं महानगरपालिकालाई निर्देशन दिएको छ । बिहीबारकै मन्त्रिपरिषदले प्रदेशको अस्थायी केन्द्र र प्रदेश प्रमुख नियुक्त गर्न सक्ने आशङ्का भएपनि निर्णय भने त्यसअनुरुप आएन ।