घारखोलाको काम एक हप्तापछि सञ्चालन

गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनको अध्यक्षतामा सोमबार आयोजना प्रभावित अन्नपूर्ण गाउँपालिका–५ शिख र वडा नं ६ घारका जनप्रतिनिधि, सङ्घर्ष समितिका पदाधिकारी र प्रवर्द्धक कम्पनी म्याग्दी हाइड्रोपावरका सञ्चालकबीच भएको बैठकमा सहमति जुटेपछि आयोजनाको काम सञ्चालन भएको हो ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको निर्माण कार्य एक हप्तापछि सोमबारबाट सञ्चालन भएको छ ।

गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनको अध्यक्षतामा सोमबार आयोजना प्रभावित अन्नपूर्ण गाउँपालिका–५ शिख र वडा नं ६ घारका जनप्रतिनिधि, सङ्घर्ष समितिका पदाधिकारी र प्रवर्द्धक कम्पनी म्याग्दी हाइड्रोपावरका सञ्चालकबीच भएको बैठकमा सहमति जुटेपछि आयोजनाको काम सञ्चालन भएको हो ।

आयोजनाको कुल लागतको शून्य दशमलब ७५ प्रतिशत सामाजिक सहयोग कार्यक्रमका लागि गाउँपालिकालाई उपलब्ध गराउने, बजेट प्रभावित दुई अाेटै वडाको सहमतिमा परिचालन गर्ने सम्झौतापछि शिखका बासिन्दाले आन्दोलन फिर्ता लिएकाले सोमबार साँझदेखि काम सञ्चालन भएको आयोजनाका प्रमुख विनोद देवकोटाले जानकारी दिए ।

शिखका बासिन्दाले यसअघि भएका प्रतिबद्धता कार्यान्वयन गर्नुपर्ने, सामाजिक सहयोग कार्यक्रमको बजेट सार्वजनिक गर्नुपर्नेलगायत सातबुँदे माग राख्दै भदौ ३१ देखि आयोजनाको बाँध र सुरुङ निर्माण कार्यमा अवरोध गरेका थिए । २०७४ चैतदेखि पूर्वाधार निर्माण सुरु गरेको आयोजनाले अन्नपूर्ण गाउँपालिकाको ५ र ६ नं वडाको सीमा क्षेत्रमा पर्ने कुरीलाबगरदेखि २५० मिटर लामो सुरुङ खनेको छ ।

घारको बिरौटादेखि बाँधस्थलसम्म पहुँच मार्ग निर्माण गरिसकेको आयोजनाले सुरक्षाकर्मी, कर्मचारी र मजदुर आवास स्थलका लागि पूर्वाधार तयार गरेको छ । तीन किलोमिटर सुरुङ रहने आयोजनाको विद्युत् गृह अन्नपूर्ण गाउँपालिका–६ स्थित पोखरेबगर र रातोपानीको बीचमा प्रस्ताव गरिएको छ ।

दुई अर्ब ४१ करोड ५८ लाख २५ हजार कुल लागत अनुमान गरिएको आयोजनाले सामाजिक सहयोग कार्यक्रमका लागि एक करोड ८० लाख रूपैयाँ सहयोग गर्ने लिखित सहमति भएको छ । गाउँपालिकाको समृद्धिको प्रमुख आधार मानिएको जलविद्युत् आयोजना निर्माणमा अनुकूल वातावरण तयार गरिएको र कुनै समस्या आएमा छलफलबाट समाधान गरिने अध्यक्ष पुनले बताए । रासस