भारतीय पेट्रोलियममन्त्री धर्मेन्द्र काठमाडौंमा

अमलेखगन्जदेखि चितवनसम्म पाइपलाइन निर्माणका लागि नेपालले भारतसँग राखेको प्रस्तावबारे छलफल गर्न बुधबारबाट नेपाल र भारत संयुक्त बर्किङ कमिटीको बैठक हुने भनिएको थियो । तर अन्तिम समयमा स्थगन भएको थियो । सहसचिवस्तरीय बैठक स्थगन भए पनि पेट्रोलियममन्त्री प्रधान भने मन्त्रीस्तरीय छलफलका लागि आएका हुन् ।

भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधान काठमाडौं आइपुगेका छन् । शुक्रबार काठमाडौं आएका मन्त्री प्रधान र आपूर्तिमन्त्री मातृकाप्रसाद यादवबीच दुईपक्षीय भेटघाट हुने कार्यक्रम छ ।

दुईपक्षीय भेटमा अमलेखगन्जदेखि चितवनसम्म पेट्रोलियम पाइपलाइन र मोतिहारी चितवनसम्म ग्यासको पाइपलाइन विस्तारको विषयमा छलफल हुनेछ । यस्तै प्राकृतिक ग्यासको अन्वेषण र रिफ्युलर खरिद प्रक्रिया अगाडि बढाउने विषयमा पनि छलफल हुने निगम स्रोतले जानकारी दिएको छ ।

भदौ १३ गते भारतका पेट्रोलियममन्त्री प्रधान र आपूर्तिमन्त्री यादवबीच भारतमा सम्पन्न उच्चस्तरीय बैठकमा खाना पकाउने (एलपी) ग्यास, प्राकृतिक ग्यास र पेट्रोल पाइपलाइन विस्तार परियोजनाका लागि भारतले नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाइएको थियो । यस्तै हवाई इन्धन भर्ने १५ ओटा रिफ्युलर इन्डियन आयल कर्पाेरेसन (आईओसी)ले खरिद गरेकै मूल्यमा दिने र जनकपुरमा पेट्रोलियम ट्रेनिङ सेन्टर अनुदानमा निर्माण गरिदिने पनि सहमति भएको थियो ।

ग्यास पाइपलाइन पनि चितवनसम्मै निर्माण गर्न निगमले प्रस्ताव राखेको थियो । निगमले अमलेखगन्जदेखि चितवनसम्म पाइपलाइन विस्तारको प्रारम्भिक सर्भे गरेर भारतसमक्ष प्रस्ताव राखिसकेको छ । निगमका अनुसार अमलेखगन्जदेखि चितवनसम्म करिब ६१ किलोमिटर पाइपलाइन निर्माण गर्नुपर्ने प्रारम्भिक अनुमान छ । नेपाल आउने करिब ७० प्रतिशत पेट्रोलियम पदार्थ रक्सौल हुँदै ढुवानी हुन्छ । मोतिहारी–अमलेखगन्ज पाइपलाइन निर्माणको काम ६५ प्रतिशत सम्पन्न भइसकेको निगमले जनाएको छ ।

भारतबाट भैरहवासम्म प्राकृतिक ग्यासको पाइप निर्माण गर्ने प्रस्तावमा पनि भारतीय पक्ष सहमत हुँदै सघाउने प्रतिबद्धता जनाएको छ । लगानी बोर्डले मल उद्योगको परियोजना तयार गरेको छ । प्राकृतिक ग्यास प्रयोग गरेर ६७ अर्ब रुपैयाँ लागतमा मल उद्योग सञ्चालन गर्न सकिने लगानी बोर्डको भनाइ छ ।

हवाई इन्धन भर्ने रिफ्युलर तत्कालका लागि सापटी उपलब्ध गराए पनि आईओसीले खरिद गरेकै मूल्यमा निगमले भुक्तानी गर्नुपर्नेछ । निगमसँग पर्याप्त रिफ्युलर नहुँदा इन्धन भर्न कठिन भएपछि उसले भारतसँग आग्रह गरेको थियो ।

अमलेखगन्जदेखि चितवनसम्म पाइपलाइन निर्माणका लागि नेपालले भारतसँग राखेको प्रस्तावबारे छलफल गर्न बुधबारबाट नेपाल र भारत संयुक्त बर्किङ कमिटीको बैठक हुने भनिएको थियो । तर अन्तिम समयमा स्थगन भएको थियो । सहसचिवस्तरीय बैठक स्थगन भए पनि पेट्रोलियममन्त्री प्रधान भने मन्त्रीस्तरीय छलफलका लागि आएका हुन् । मन्त्री प्रधानले निर्माणाधीन रक्सौल–अमलेखगञ्ज र मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन आयोजना अवलोकन एवम् समीक्षा गर्ने नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।