प्रत्यक्ष वैदेशिक लगानीमा निराशाजनक चित्र, १६ गुणाले घट्यो

नेपाल राष्ट्र बैङ्कले चालू आर्थिक वर्षको पहिलो महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिले भने वैदेशिक लगानीको आशालाई निराशामा बदलेको तथ्याङ्क प्रस्तुत गरेको छ ।

सरकारले वैदेशिक लगानीलाई उच्च प्राथमिकतामा राखिरहेका बेला नेपाल आएको प्रतक्ष वैदेशिक लगानीको आकडाले भने निराशाजनक चित्र देखाएको छ । नेपाल राष्ट्र बैङ्कले चालू आर्थिक वर्षको पहिलो महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिले भने वैदेशिक लगानीको आशालाई निराशामा बदलेको तथ्याङ्क प्रस्तुत गरेको छ ।

राष्ट्र बैङ्कले साउन महिनामा प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह २९ करोड ५७ लाख रुपैयाँ मात्रै रहेको जनाएको छ । जबकि यस्तो लगानी गत वर्षको साउनको तुलनामा १६ गुणाले कम हो । गत वर्ष साउनमा ४ अर्ब ६१ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी नेपाल भित्रिएको थियो । चालू वर्षमा आएको वैदेशिक लगानी पछिल्ला तीन वर्षयताकै कम हो र यो अत्यन्तै न्यून हो ।

यद्यपि लगानीको सम्पूर्ण परिवेश साउनमा आएको प्रत्यक्ष वैदेशिक लगानीमा मात्रै केन्द्रित भएर आगामी दिनको आकलन गर्न सकिँदैन । तर, सुरुआती अग्रसरता भने राम्रो देखिएन र यसले सकारात्मक सन्देश सिर्जना गर्न सक्दैन । स्थायी सरकार बनेर नयाँ बजेट कार्यान्वयनमा अघि बढेको र ८ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएका बेला देखिएको वैदेशिक लगानीमा गिरावट सरकारका लागि चुनौतीको विषय हो । विगतमा अस्थिर सरकार हुँदा पनि राम्रो वैदेशिक लगानी आएको स्थितिमा स्थिर सरकार र नीतिगत स्पस्टता हुँदा पनि लगानीमा आएको यो गिरावट चिन्ताको विषय भने हो ।

आर्थिक वर्ष २०७३/७४ को साउनमा पनि १ अर्ब २३ करोड रुपैयाँबराबरको वैदेशिक लगानी नेपाल भित्रिएको तथ्याङ्क राष्ट्र बैङ्कसँग छ । यद्यपि त्यसअघिको वर्षको साउनमा भने ४ करोड रुपैयाँ मात्रै वैदेशिक लगानी भित्रिएको थियो । खासगरी अमेरिकी डलरको तुलनामा नेपाली मुद्राको अवमूल्यन भएका कारण प्रत्यक्ष वैदेशिक लगानीमा असर परेको हुन सक्ने आकलन गरिएको छ । राष्ट्र बैङ्कको अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादर थापाले डलर बलियो हुँदा वैदेशिक लगानी प्रभावित हुने बताए । ‘असारको तुलनामा साउनमा डलर बलियो भएकाले लगानीकर्ता केही समय ‘पर्ख र हेर’को अवस्थामा बसेका हुनसक्छन्,’ उनले भने, ‘छिटोछिटो विनिमय दरमा परिवर्तन आउँदा अझ डलर बलियो हुने हो कि भनेर लगानीकर्ता पर्खेर बसेका हुनसक्छन् ।’

गत आर्थिक वर्ष २०७४/७५ मा १७ अर्ब ५१ करोडको प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको थियो । अधिकांश हिस्सा ऊर्जा, सिमेन्ट, होटललगायतका उद्योगहरुमा लगानी भएको थियो । त्यस अघिको वर्षमा भने १३ अर्ब ५० करोड रुपैयाँ वैदेशिक लगानी भित्रिएको थियो ।