यसअघि असोज ३ गते अमेरिकी डलरको खरिद मूल्य १ सय १७ दशमलव ७ रुपैयाँ पुगेको थियो । त्यसपछि लगातार घटेको डलरको मूल्य फेरि उकालो लागेको हो । हाल एक रुपैयाँ भारुको खरिद मूल्य १ सय ६० रुपैयाँ १५ पैसा छ ।
नेपाली रुपैयाँ (नेरु)को तुलनामा अमेरिकी डलरको मूल्य बिहीबार १ सय १७ दशमलव ६५ रुपैयाँ कायम भएको छ । नेपाल राष्ट्र बैङ्कले बिहीबार नयाँ दर तोकेसँगै बुधबारको १ सय १६ दशमलव ९६ पैसा रहेको डलरको तुलनामा ६९ पैसा बढेको छ । यसअघि असोज ३ गते अमेरिकी डलरको खरिद मूल्य १ सय १७ दशमलव ७ रुपैयाँ पुगेको थियो । त्यसपछि लगातार घटेको डलरको मूल्य फेरि उकालो लागेको हो । हाल एक रुपैयाँ भारुको खरिद मूल्य १ सय ६० रुपैयाँ १५ पैसा छ ।
चालू आर्थिक वर्ष सुरु भएदेखि नै बढ्न थालेको डलरको भाउ दिनदिनै वृद्धि भएसँगै नेरु कमजोर अवस्थामा पुगेको छ । पछिल्लो समय डलरको मूल्य वृद्धि भइरहँदा डलरको तुलनामा भारतीय रुपैयाँ (भारु) कमजोर अवस्थामा पुगेकाले नेपाली रुपैयाँ पनि कमजोर हुँदै गएको हो ।
भारतसँग स्थिर विनिमयदर रहेकाले डलरको तुलनामा भारतीय मुद्रा तलमाथि हुँदा त्यसको असर नेपाली रुपैयाँमा पर्न जान्छ । खासगरी इरानको तेललाई अमेरिकाले प्रतिबन्ध गरेकाले तेलको मूल्य महँगो हुँदा डलरको मूल्य पनि बढेको हो । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा डलरको माग बढिरहेकाले अझै सटही दर बढ्ने अनुमान छ । वैशाख यता डलर निरन्तर बलियो र नेपाली रुपैयाँ कमजोर हुँदै गएको छ । फेडरल रिजर्भले ब्याजदर बढाएपछि भारतबाट विदेशी लगानी अमेरिकातर्फ फर्किंदा डलर सञ्चिति घट्न थालेको बताइएको छ ।
डलर महँगिदा आयातित सबै वस्तु तथा सेवा महँगिन्छ । डलर तिरेर आयात गरिएका वस्तु तथा सेवाको लागत महँगो भई खुद मूल्य बढ्छ र अन्त्यमा यसको मारमा उपभोक्ता पर्छन् । यसले पेट्रोलियमको भाउ बढाउन पनि सहयोग गर्छ । भारत तथा तेस्रो मुलुकबाट आउने सवारीसाधन, मोबाइल फोन, इलेक्ट्रोनिक्सका सामान, लत्ताकपडाको भाउ बढ्छ । विदेशबाट कच्चा पदार्थ ल्याएर उत्पादन गर्ने उद्योगको लागतमा पनि वृद्धि हुन्छ । त्यसैगरी राज्यले विदेशी दातृ निकायसँग लिएको ऋणको लागत पनि बढ्न जान्छ । त्यसैगरी नेपाल विद्युत् प्राधिकरणले डलरमा विद्युत् खरिद सम्झौता गरेका हकमा त्यसको बिजुली खरिद गर्दा तिर्नुपर्ने दायित्व पनि बढ्छ ।
विदेशी लगानीमा खोलिएका कम्पनीले लैजाने लाभांशलगायतको दायित्व पनि बढ्छ । अन्तर्राष्ट्रिय बजारमा हवाई टिकटको मूल्य पनि बढ्छ । यसले गर्दा समग्रमा नेपाली जनता मारमा पर्ने गर्छन् । केवल विदेशबाट पठाइएको विप्रेषणको आय मात्र वृद्धि हुन्छ । र, विदेशबाट प्राप्त हुने पेन्सन आप्रवाह पनि वृद्धि हुन्छ । तर, स्वदेशबाट जाने विप्रेषण र पेन्सन आप्रवाहको दायित्व भने बढ्छ ।