दाङमा अर्को सिमेन्ट उद्योग

यसअघि दाङको घोराहीबाट सगरमाथा सिमेन्ट र दूधरासबाट सोनापुर सिमेन्ट उत्पादन हुँदै आएको थियो भने अहिले लमहीबाट गजराज सिमेन्ट उत्पादन सुरु भएको छ ।

दाङमा अर्को सिमेन्ट उद्योगले उत्पादन सुरु गरेको छ । यसअघि दाङको घोराहीबाट सगरमाथा सिमेन्ट र दूधरासबाट सोनापुर सिमेन्ट उत्पादन हुँदै आएको थियो भने अहिले लमहीबाट गजराज सिमेन्ट उत्पादन सुरु भएको छ ।

लमही नगरपालिका थालेको उद्योगका प्रबन्ध निर्देशक वासु पाण्डेले जानकारी दिए । उत्पादन आसपासका नागरिकको स्वास्थ्यलाई कुनै असर नपर्ने गरी उद्योग सञ्चालनमा ल्याएको उनले बताए ।

दैनिक एक हजार ८०० टन सिमेन्ट उत्पादन क्षमता भएको उद्योग स्थापना गर्न एक अर्ब ६० करोड रूपैयाँको लगानी रहेको पाण्डेले बताए । उद्योगले दाङको काभ्रे, लोहरपानी, स्यूजा, रोल्पाको डुब्रिङ र प्यूठानको रम्दीबाट चुनढुङ्गा ल्याउने गरेको छ । यस्तै उद्योगले क्लिङ्गर तत्कालका लागि सोनापुर सिमेन्ट उद्योग र भारतबाट ल्याउने गरेको पाण्डेले जानकारी दिए ।

सिमेन्ट उद्योगले गजराज र सम्राट ब्राण्डका पीपीसी र ओपीसी सिमेन्ट उत्पादन गर्ने उद्योग प्रशासनले जनाएको छ । जर्मन प्रविधिको मेसिनले सिमेन्ट उत्पादन थालेको उनको भनाइ छ ।