चालू आवको साउनदेखि असोज १५ गतेसम्ममा भारत तथा तेस्रो मुलुकबाट ५१ हजार ६ सय ८० थान मोटरसाइकल तथा अटो रिक्सा, एम्बुलेन्स, ट्र्याक्टर, जिप, कार, भ्यान, विद्युतीय गाडी, बस, मिनीबस तथा माइक्रोबस नेपाल भित्रिएका छन् । नेपाल भित्रिने सवारीसाधनमा ९० प्रतिशत भारतबाट तथा १० प्रतिशत तेस्रो मुलुकका छन् ।
दसैँ, तिहार र छठ पर्वलाई लक्ष्य गरी व्यापारीले चालू आवको साउनदेखि असोज १५ गतेसम्म भारत तथा तेस्रो मुलुकबाट आठ अर्ब २८ करोड १८ लाखबराबरका सवारीसाधन नेपाल भित्र्याएका छन् ।
भारत तथा तेस्रो मुलुकबाट सवारीसाधन नेपाल भित्रिएपछि वीरगन्ज भन्सार कार्यालयलाई कुल राजस्वको ४० प्रतिशत सवारीसाधनबाट भन्सार उठेको भन्सार अधिकृत सन्तोष यादवले जानकारी दिए ।
चालू आवको साउनदेखि असोज १५ गतेसम्ममा भारत तथा तेस्रो मुलुकबाट ५१ हजार ६ सय ८० थान मोटरसाइकल तथा अटो रिक्सा, एम्बुलेन्स, ट्र्याक्टर, जिप, कार, भ्यान, विद्युतीय गाडी, बस, मिनीबस तथा माइक्रोबस नेपाल भित्रिएका छन् । नेपाल भित्रिने सवारीसाधनमा ९० प्रतिशत भारतबाट तथा १० प्रतिशत तेस्रो मुलुकका छन् ।
यसैगरी आव २०७४/७५ को साउनदेखि असोज १५ गतेसम्ममा भारत तथा तेस्रो मुलुकबाट ६ अर्ब ८६ करोड १२ लाखका ५० हजार ८ सय ५६ थान सवारीसाधन नेपाल भित्रिएका थिए । मूल्यवृद्धि, करको दायरा फराकिलो हुनु तथा माग बढी भएकाले यस वर्ष गाडीको सङ्ख्या र रकम बढ्न गएको भन्सार अधिकृत यादवको भनाइ छ ।
सरकारले चालू आवदेखि खरिद गरिएको गाडीको मूल्यको ८० प्रतिशत भन्सार महशुल, ६० प्रतिशत अन्तःशुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर लिने गरेको छ । बिक्रेताले गाडीको बुकिङ र राजस्व बुझाउने काम समयमै नगरेपछि नेपालतर्फको आईसीपी, सुक्खा बन्दरगाह र भारत रक्सौलको पन्टोका क्षेत्रमा हुन्डाई, मारुती, सुजुकी, फोर्ड महिन्द्रा, निसान, रेनल्ट, नेक्सन, टाटा, टोयोटा, मर्सिडिजलगायत जिप, कार, भ्यान, पिकअप, ट्रक, टिपर, मिनी बस, ट्र्याक्टरलगायत सवारीसाधन रोकिएका छन् ।
भारत तथा तेस्रो मुलुकबाट आयात गरिएका गाडी नेपाल–भारत दुवैतर्फ गरी दुई हजार ५ सयभन्दा बढी सवारीसाधन रोकिएका छन् । दसैँ, तिहार र छठमा बिक्रेताले विभिन्न प्रकारको उपहार योजना राख्ने तथा माग पनि बढ्न गएकाले बिक्री बढ्ने हुँदा वीरगन्ज नाकाबाट ठूलो परिमाणमा सवारीसाधन नेपाल भित्रिने गरेको हो । सङ्घीय सरकारले वीरगन्ज भन्सार कार्यालयलाई आव २०७५÷७६ मा १ सय ७१ अर्ब राजश्व उठाउने लक्ष्य दिएको छ । रासस