दसैंको टिकाटालामा साढे ७ करोडभन्दा बढीको चामल

बडादसैं २०७५ ले अधिकांश नेपालीहरुलाई छोइसकेको छ । कोही दसैं मनाउन भन्दै आफ्नो पुख्र्यौली थलोको घरआँगनमा भेला भईसकेका छन् भने कतिपय बाटोमा छन् । दसैंंको सबैभन्दा ठूलो विशेषता भनेको आफूभन्दा ठूलोबाट आर्शिवाद लिने हो । यसरी आर्शीवाद लिँदा ठूलावडाले चामलको टिका र जमरा लगाइदिने चलन छ । तर, दसैंका टिकाका अवसरमा प्रयोग गरिने चामल भने करोडौंको प्रयोग हुन्छ ।

सामान्य आङ्कलन गर्दा पनि दसैंका अवसरमा कम्तीमा साढे ७ करोड रुपैयाँबराबरको चामल प्रयोग हुने गर्छ । दशमीका दिनदेखि पूर्णिमासम्म ६ दिन मुलुकभर टिका लगाउने प्रचलन छ । खासगरी हिन्दु र बौद्ध धर्मालम्बीहरुले दसैंमा टिका लगाउने गर्दछन् ।

केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको पछिल्लो जनगणना र आवासको जनगणना २०११ को राष्ट्रिय प्रतिवेदनअनुसार नेपालमा ५४ लाख २७ हजार ३ सय २ घरपरिवार (हाउसहोल्ड) रहेको छ । त्यसमध्ये ५४ लाख २३ हजार २ सय ९७ व्यक्तिगत घर परिवार र ४ हजार ५ संस्थागत घरपरिवार (व्यारेक, होटल, मठ÷विहार) रहेका छन् । त्यसबेला विभागले २ करोड ६४ लाख ९४ हजार ५ सय ४ जना जनसंख्या रहेको तथ्याङ्क सार्वजनिक गरेको थियो भने जनसंख्या बृद्धिदर १.३५ प्रतिशत रहेको जनाएको छ । विभागकै अनुमानअनुसार हाल मुलुकमा २ करोड ९३ लाख जनसंख्या हुनसक्ने आंकलन छ । यसआधारमा घरपरिवारको संख्यामा अझ बृद्धि हुने अनुमान गर्न सकिन्छ । कुल जनसंख्यामध्ये ८१.३ प्रतिशतले हिन्दु धर्म र ९ प्रतिशत बुद्धिस्ट धर्मालम्बी रहेको पाइन्छ । त्यसआधारमा ४४ लाख १२ हजार हिन्दु घरपरिवार र ४ लाख ८८ हजार बौद्ध धर्मालम्बी दसैं पर्वमा प्रत्यक्ष र अन्य घरपरिवार अप्रत्यक्ष रुपमा दसैंसँग जोडिएका हुन्छन् ।

हिन्दु धर्मालम्बीहरुले मात्रै दसैंमा टिकाजमरा लगाउँदैनन् कि बौद्ध धर्मालम्बीहरुले पनि दसंैमा टिका जमरा प्रयोग गर्छन् । भलै हिन्दुहरुले रङ्गीचङ्गी टिका प्रयोग गर्दा बौद्ध धर्मालम्बीहरुले भने सेतो टिका प्रयोग गर्छन् । हिन्दु र बौद्ध धर्मालम्बीमध्ये १० प्रतिशतले विभिन्न कारणले दसैैंमा टिका जमरा लगाउँदैनन् भन्ने अनुमान गर्ने हो भने पनि ४४ लाख घरपरिवार टिकाटालामा व्यस्त हुन्छन् । दसैंमा टिकाका लागि मात्रै औसतमा प्रतिपरिवार एक किलो मात्रै चामल प्रयोग हुन्छ भन्ने मान्ने हो भने ४४ लाख किलो चामल टिकाका रुपमा प्रयोग हुन्छ र यो चामल खेर जाने (पुनःप्रयोग गर्न नसकिने) हो । प्रतिकिलो औसतमा १७ रुपैयाँको चामल प्रयोग गरेमा पनि ७ करोड ४८ लाख रुपैयाँबराबरको त चामल मात्रै खेर जाने देखिन्छ ।

चामलसँगै दही, अबिर (रङ्) र चिनी कति प्रयोग हुन्छ त्यसको आंकलन गर्न सकिँदैन । खासगरि टिका राम्रो देखाउन विभिन्न प्रकारका अविर तथा रङ्हरु प्रयोग गर्ने प्रचलन बढ्दै गएको छ । एउटा परिवारले एक प्याकेट रङ दसैंका अवसरमा खरिद गर्ने गरेको पाइन्छ, भलै बचेको रङ् अन्य बेला पनि प्रयोग हुन्छ । प्रतिप्याकेट रङ्लाई २० रुपैयाँ परेपनि ४० लाख घरपरिवार (हिन्दु)ले खरिद गर्दा करीव ८ करोड रुपैयाँ खर्च हुने अनुमान गर्न सकिन्छ । घरपरिवारमा हुने यस्ता नदेखिने सरसामानले पनि दशैंलाई महङ्गो बनाउँदै लगेको छ । अझ टिका निधारमा अड्याई राख्न चिनीको प्रयोग गर्ने प्रचलन बढ्दै गएको छ भने अक्षता बनाउनका लागि दहीको प्रयोग गर्ने गरिन्छ ।

दसैंका अवसरमा घरपरिवारमा प्रयोग हुने चामल मात्रै नस्ट हुँदैन देबी मन्दिर र कोटघर (शक्तिपीठ)हरुमा पनि पुजाका लागी निकै धेरै चामल प्रयोग हुने र त्यो चामल नस्ट हुने गर्दछ । घटस्थापनादेखि दशमीका दिनसम्म शक्तीपिठहरुमा व्यापक रुपमा पुजाआजा हुनेगर्छ ।