पर्यटकले पनि मनाए नेपाली टोपी दिवस

‘हाम्रो टोपी हाम्रो शान, नेपाली पहिचान’ भन्ने मूल नाराका साथ स्थानीयवासीले आयोजना गरेको रयालीमा विदेशी पर्यटकले सहभागिता जनाएका हुन् । नेपालीको पहिचान झल्कने टोपी विश्वकै आकर्षक भएको भन्दै नेपालमै रहेका बेला यो दिवस मनाउन पाएकामा खुसी लागेको बेलायती पर्यटक जुलियाले बताइन् ।

लमजुङ :  भ्रमणमा आएका विदेशी पर्यटकले पनि नेपाली टोपी दिवस मनाएका छन् । सदरमुकाम बेसीसहरमा आयोजित कार्यक्रममा विदेशी पर्यटक नेपाली टोपीसहित सहभागी भएका हुन् ।

‘हाम्रो टोपी हाम्रो शान, नेपाली पहिचान’ भन्ने मूल नाराका साथ स्थानीयवासीले आयोजना गरेको रयालीमा विदेशी पर्यटकले सहभागिता जनाएका हुन् । नेपालीको पहिचान झल्कने टोपी विश्वकै आकर्षक भएको भन्दै नेपालमै रहेका बेला यो दिवस मनाउन पाएकामा खुसी लागेको बेलायती पर्यटक जुलियाले बताइन् ।

दिवसका अवसरमा उद्योग वाणिज्य सङ्घ लमजुङ, रोटरी, रोट्र्याक्ट, जेसिससहित विभिन्न युवा क्लबले बिहान बेँसीशहरमा रयाली निकालेका थिए । रयालीमा आयोजकसहित टोपीलगायतका विदेशी र सर्वसाधारणको स्वस्फूर्त सहभागिता थियो । सर्वसाधारणले भादगाउँले र ढाकाटोपी लगाएर राष्ट्रिय झण्डा बोकेका थिए ।

अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालीको पहिचानका टोपीको महत्व रहेको भन्दै यसको महत्वलाई अझै बढाउन टोपी दिवस सान्दर्भिक भएको रोटरी क्लब अफ लमजुङका अध्यक्ष दीपक पौडेलले बताए । विदेशी संस्कृतिको प्रभाव परिरहेका बेला नेपालीको पहिचान जोगाउन सरकारी तवरबाट नै टोपी दिवसलाई विशेष महत्व दिनुपर्ने लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजेश थापाको भनाइ छ ।

चार वर्षअघिदेखि रोट्र्याक्ट क्लब अफ लमजुङले टोपी दिवस मनाउँदै आएको छ । अन्तर्राष्ट्रिय क्लब रोट्रयाक्टले नेपाली पनको महत्वलाई प्रवर्धन गर्न टोपी दिवस मनाउँदै आएको क्लबका अध्यक्ष झमप्रसाद गुरुङले बताए ।