हालै चीन भ्रमणमा गएका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले ४ सय केभी क्षमताका प्रसारण लाइन र ठूला जलविद्युत् आयोजना निर्माणमा चीनले सहयोग गर्ने प्रतिबद्धता जनाएको बताएका हुन् ।
चीनले उच्च क्षमताका प्रसारण लाइन तथा करिडोर र जलविद्युत् आयोजना निर्माणमा सहयोग गर्ने भएको छ । हालै चीन भ्रमणमा गएका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले ४ सय केभी क्षमताका प्रसारण लाइन र ठूला जलविद्युत् आयोजना निर्माणमा चीनले सहयोग गर्ने प्रतिबद्धता जनाएको बताएका हुन् । खासगरी नेपाल—चीनसँग जोडिएको ४ सय केभी क्षमताको रसुवागढी—गल्छी—केरुङ अन्तरदेशीय प्रसारण लाइन, काठमाडौँ—केरुङ प्रसारण लाइन, कोशी करिडोर, कर्णाली करिडोर, भेरी करिडोर जस्ता उच्च क्षमताका प्रसारण लाइन निर्माण चिनियाँ लगानीमै बनाइने मन्त्री पुनले बताए ।
त्यसैगरी, ठूला र जलाशय तथा अर्धजलाशययुक्त जलविद्युत् आयोजना निर्माणमा पनि चीनले सहयोग गर्नेगरी सहमति भएको छ । खासगरी किमाथाङ्का, तमोर, कर्णालीलगायत अन्य ठूला जलविद्युत् आयोजना निर्माण गर्न चिनियाँ लगानी आवश्यक रहेको मन्त्री पुनले बताएका थिए ।
भ्रमणका अवसरमा मन्त्री पुन र चिनियाँ उपमन्त्री लियाङ विलियाङ्गसँग भेटघाट भएको थियो । भेटघाटमा यसअघि प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणका बेला भएको इनर्जी कोअपरेसनमा भएको सम्झौता अघि बढाउने विषयमा मन्त्री पुन र चिनियाँ उपमन्त्री लियाङ् विलियाग्ङबीच सहमति भएको छ । विद्युत् लेनदेन गर्न उच्च क्षमताका ट्रान्समिसन लाइन र आयोजना निर्माणसम्बन्धी प्रस्ताव प्रधानमन्त्री ओलीको भ्रमणका बेला राखिसकिएको थियो ।
मन्त्री पुनले नेपालमा चिनियाँ सहयोग आवश्यक रहेको भन्दै उच्च क्षमताका प्रसारण लाइन तथा जलविद्युत् आयोजना निर्माणमा लगानी गर्न आग्रहसमेत गरेका थिए ।
भ्रमणकै क्रममा ठूला जलविद्युत् आयोजना निर्माणका लागि चिनियाँ लगानीसम्बन्धी बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई), खरिद, निर्माण, पुँजी र वित्तीय व्यवस्थापन सम्बन्धी (इपीसीएफ) मोडेल, सहुलियत ऋण, पुँजी तथा कोष स्थापनालगायतका विषयमा छलफलसमेत भएको थियो । जलविद्युत् आयोजना तथा प्रसारण लाइन निर्माणका लागि लगानी गर्न चीन तयार रहेको पुनको तर्क छ । भ्रमणमा चिनियाँ उच्च अधिकारी, चिनियाँ कम्पनी, उद्योगी तथा लगानीकर्ताहरुसँग छलफल भएको मन्त्रीका प्रेस संयोजक रोशन खड्काले बताए ।