आन्तरिक पर्यटकले खचाखच सौराहा

यहाँका १ सय १० होटल आन्तरिक पर्यटकले भरिएको क्षेत्रीय होटल सङ्घ चितवन, सौराहाका महासचिव राममणि खनालले जानकारी दिए ।

पर्यटकीय गन्तव्य सौराहामा अङ्ग्रेजी नयाँ वर्ष २०१८ मा आन्तरिक पर्यटकको घुँइचो छ । यहाँका १ सय १० होटल आन्तरिक पर्यटकले भरिएको क्षेत्रीय होटल सङ्घ चितवन, सौराहाका महासचिव राममणि खनालले जानकारी दिए । ‘लगभल १५÷२० प्रतिशत बाह्य पर्यटक छन्, खनालले भने, अरु सबै आन्तरिक पर्यटकले होटल भरिभराउ भयो ।’

आइतबार साँझ आएका कतिपय पर्यटकलाई कोठा पाउनसमेत समस्या परेको व्यवसायीले बताएका छन् । बाह्य पर्यटकमा भारतबाट धेरै आएका छन् । तेस्रो मुलुकका पर्यटक भने न्यून छन् । यहाँका सुविधायुक्त १ सय १० होटलमा दैनिक दुई हजार ८ सय पर्यटक राख्न सकिन्छ । नयाँ वर्ष मनाउन आएका पर्यटक राति १२ बजेसम्म विभिन्न साङ्गीतिक कार्यक्रमको रमाइलोमा भुलेका थिए । साङ्गीतिक कार्यक्रममा रामचन्द्र काप्mले, जुनु रिजाल, डीबी लोप्चनलगायतले मनोरञ्जन गराएका थिए ।

सौराहामा पुस ११ गतेदेखि शुरु भएको चितवन हात्ती महोत्सवदेखि नै पर्यटकको चहलपहल बढेकोमा आइतबार नयाँ वर्ष मनाउन बढी पर्यटक आएको पर्यटन व्यवसायी ऋषि तिवारीले बताए । काठमाडौँबाट नयाँ वर्ष मनाउन आएका प्रणव सुवेदीले यसपटक सौराहामा साह्रै रमाइलो भएको प्रतिक्रिया दिए । मुख्य गरी सौराहामा आउने पर्यटक हात्ती, डुँगा, जिप सफारी यात्राबाट चितवन निकुञ्जमा रहेका गैँडा, बाघलगायत जङ्गली जनावर हेर्न मन पराउँछन् । वन्यजन्तु पर्यटनका हिसाबले चितवन नेपालकै पहिलो गन्तव्य हो ।