भद्रपुर भन्सारले पहिलो महिनामै उठायो दुई करोड ६६ लाख

सरकारले साउन १ गतेदेखि भद्रपुरको छोटी भन्सारलाई मेची भन्सार कार्यालय मातहतबाट स्तरोन्नति गर्दै छुट्टै भन्सार कार्यालयको मान्यता दिएको थियो ।

तीन महिनाअघि छुट्टै भन्सार कार्यालयको मान्यता पाएको भद्रपुर भन्सारले असोज महिनामा दुई करोड ६६ लाख राजस्व सङ्कलन गरेको छ । सरकारले साउन १ गतेदेखि भद्रपुरको छोटी भन्सारलाई मेची भन्सार कार्यालय मातहतबाट स्तरोन्नति गर्दै छुट्टै भन्सार कार्यालयको मान्यता दिएको थियो ।

यस कार्यालयले असोज महिनामा दुई करोड ६६ लाख ५६ हजार १८१ रूपैयाँ राजस्व सङ्कलन गरी राजस्व विभागमा पठाएको भन्सार अधिकृत फणिन्द्र खतिवडाले जानकारी दिए ।

यसअघि कर्मचारी अभावमा सो कार्यालयले सङ्कलित राजस्व सिधै विभागमा पठाउनुको साटो मेची भन्सार कार्यालयमा पठाउने गरेको थियो । भद्रपुर भन्सारले असोजमा सङ्कलन गरेको राजस्वको लगभग आधा–आधा हिस्सा पैठारी महसुल र मूल्य अभिवृद्धि करले ओगटेको छ ।

पैठारी महसुल एक करोड २८ लाख, ७४ हजार २३ र मूल्य अभिवृद्धि कर एक करोड २४ लाख २५ हजार १८८ रूपैयाँ सङ्कलन भएको छ । भन्सार सेवा दस्तुर, कृषि सुधार शुल्क, कृषिमा अग्रिम शुल्क र अन्तःशुल्कबापत अन्य राजस्व सङ्कलन भएको छ ।

सत्र जना कर्मचारीको दरबन्दी रहेको सो कार्यालयमा साउन र भदौ महिनामा कर्मचारी अभाव भएका कारण मेची भन्सार कार्यालयबाट काजमा आएका कर्मचारीले राजस्व सङ्कलन गरेका थिए ।

नयाँ भन्सार अधिकृतको रुपमा फणिन्द्र खतिवडा सोमबार मात्रै विराटनगर भन्सारबाट सरुवा भई भद्रपुर भन्सार कार्यालयको नेतृत्व सम्हाल्न आइपुगेका छन् ।

अन्य कर्मचारी विभिन्न ठाउँबाट सरुवा भई कार्यालयमा हाजिर भएको र दरबन्दी बमोजिमका कर्मचारी आउने क्रम जारी रहेको भन्सार कार्यालयका प्रमुख खतिवडा बताउँछन् । कर्मचारी अभाव हुन नदिन मेची भन्सार कार्यालयबाट आएका चारजना कर्मचारी काजमै छन् । रासस