तीन महिनामा एक खर्ब राजस्वः व्यापार घाटा तीन खर्ब ४९ अर्ब ८४ करोड

मुलुकका विभिन्न भन्सार कार्यालयबाट वस्तुको आयात निर्यात हुने गरेको छ । मुलुकमा हाल ३६ भन्सार कार्यालय र १३८ छोटी भन्सार कार्यालय छन् । त्यसमध्ये नौ भन्सार कार्यालय चीनसँग र बाँकी भारतीय सीमासँग जोडिएका छन् ।

चालू आर्थिक वर्षको तीन महिनामा अघिल्लो वर्षको तुलनामा ४२ प्रतिशत बढी राजस्व आम्दानी भएको छ । भन्सार विभागका अनुसार यस अवधिमा कुल एक खर्ब एक अर्ब २४ करोड रूपैयाँ राजस्व आम्दानी भएको छ ।

यस अवधिमा विभागले ९२ अर्ब ४२ करोड राजस्व आम्दानी गर्ने लक्ष्य राखेको विभागका निर्देशक विनोदशरण आचार्यले जानकारी दिए ।

मुलुकका विभिन्न भन्सार कार्यालयबाट वस्तुको आयात निर्यात हुने गरेको छ । मुलुकमा हाल ३६ भन्सार कार्यालय र १३८ छोटी भन्सार कार्यालय छन् । त्यसमध्ये नौ भन्सार कार्यालय चीनसँग र बाँकी भारतीय सीमासँग जोडिएका छन् ।

त्यसमध्ये सबैभन्दा बढी आयात वीरगञ्जबाट ३४ प्रतिशत, भैरहवाबाट १७ प्रतिशत, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट १४ प्रतिशत, विराटनगरबाट १२ प्रतिशत, सुख्खा बन्दरगाहबाट १० प्रतिशत आयात भएको तथ्याङ्कमा उल्लेख छ ।

पौने चार खर्बको वस्तु आयात

मुलुकमा पछिल्लो समयमा दैनिक उपभोग्य वस्तु तथा विलासिताका सामानको आयात बढ्दै गएको छ । विभागका अनुसार चालू आवको तीन महिनामा विभिन्न मुलुकबाट नेपालमा कुल तीन खर्ब ७४ अर्ब रूपैयाँको वस्तु आयात भएको छ ।

अघिल्लो आवको यही अवधिको तुलनामा ४३ दशमलव पाँच प्रतिशत बढी हो । गत वर्ष यस अवधिमा दुई खर्ब ६० अर्ब २० करोड रूपैयाँको वस्तु आयात भएको विभागको तथ्याङ्क छ ।

आयात भएका वस्तुमध्ये सबैभन्दा बढी ५७ अर्बको पेट्रोलियम पदार्थ आयात भएको छ । त्यसपछि सबैभन्दा बढी ४० अर्बको फलाम र स्टिलको कच्र्चा पदार्थ, २९ अर्बको सवारीसाधन, २८ अर्बको मेशिनरी सामान, २२ अर्बको इलेक्ट्रिकल सामान, १७ अर्बको विमान र विमानका सामान आयात भएको विभागको तथ्याङ्क छ ।

सबैभन्दा बढी आयात भारतबाट

यस अवधिको कुल आयातित वस्तुमध्ये सबैभन्दा बढी भारतबाट दुई खर्ब ३६ अर्बको सामान आयात भएको छ । जुन कुल आयातको ६३ प्रतिशत हो । त्यसपछि सबैभन्दा बढी चीनबाट ५३ अर्ब, फ्रान्सबाट १४ अर्ब, युनाइटेड अरब इमिरेट्स (युएई) बाट आठ अर्ब, थाइल्याण्डबाट चार अर्बका विभिन्न वस्तु आयात भएको देखिन्छ ।

चालू आवको तीन महिनामा निर्याततर्फ भने नेपालबाट विभिन्न मुलुकमा कुल २३ अर्ब ७४ करोडको विभिन्न वस्तु निर्यात भएको निर्देशक आचार्यले जानकारी दिए ।

तीन महिनामा नेपालबाट दुई अर्ब २४ करोडको कच्चा धागो, दुई अर्ब ३४ करोडको गलैँचा, एक अर्ब ९० करोडको गार्मेन्ट निर्यात भएको छ । निर्यात सबैभन्दा बढी भारत र त्यसपछि संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य र जर्मनीमा भएको देखिन्छ ।

यस अवधिमा मुलुकको व्यापार घाटा तीन खर्ब ४९ अर्ब ८४ करोड रूपैयाँ पुगेको छ । जसमध्ये सबैभन्दा बढी भारतसँग मात्र दुई खर्ब २३ अर्ब छ । मुलुकको बढ्दो घाटा विभिन्न मुलुकबाट भित्रने विप्रेषणले धानेको छ । हाल मुलुकमा विदेशमा काम गर्ने नेपालीबाट प्रतिमहिना झन्डै ८५ अर्ब विप्रेषण भित्रिने गरेको छ । –भीष्मराज ओझा/रासस