कर सङ्कलनको दायरा बढ्दै

चार वर्ष अघिसम्म वार्षिक लक्ष्य रु ४३ करोड रहेको कार्यालयले हाल रु एक अर्ब १९ करोड लक्ष्य लिएर कर सङ्कलनको दायरा निकै फराकिलो पार्दै लगेको भए पनि बैतडी जिल्लाबाट राजस्व सङ्कलन अन्य जिल्लाका तुलनामा कम हुने गरेको छ ।

भीमदत्तनगर आन्तरिक राजस्व कार्यालयले लामो समयदेखि वार्षिक लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गर्दै आइरहेको छ । केही वर्षयताको तथ्याङ्क हेर्दा वार्षिकरुपमा लक्ष्यभन्दा पाँचदेखि २१ प्रतिशतसम्म बढी राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले चालु आवका सात महिना (मंसिर मसान्त) सम्म रु ५२ करोड ९८ लाख ९७ हजार राजस्व सङ्कलन गरेको छ । चालु आवमा कार्यालयले रु एक अर्ब १९ करोड ३१ हजार ५०० राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको छ । त्यसैगरी आव २०७०÷०७१ रु ५० करोड ४४ लाख ५२ हजार राजस्व सङ्कलन भएको छ । जुन लक्ष्यभन्दा १६ प्रतिशतले बढी हो ।

कार्यालयले वार्षिक राजस्व सङ्कलनको दायरा बढाउँदै आव २०७२÷०७३ मा रु ७४ करोड ३३ लाख ९१ हजार राजस्व सङ्कलन गरेको कार्यालयले जनाएको छ । सो वर्ष पाँच प्रतिशतले लक्ष्यभन्दा बढी राजस्व सङ्कलन भएको देखिन्छ ।

त्यसैगरी आव २०७३÷०७४ मा कार्यालयले रु ९७ करोड ४८ लाख ८६ हजार राजस्व सङ्कलन गरेको छ । चार वर्ष अघिसम्म वार्षिक लक्ष्य रु ४३ करोड रहेको कार्यालयले हाल रु एक अर्ब १९ करोड लक्ष्य लिएर कर सङ्कलनको दायरा निकै फराकिलो पार्दै लगेको भए पनि बैतडी जिल्लाबाट राजस्व सङ्कलन अन्य जिल्लाका तुलनामा कम हुने गरेको छ । चार वर्षयता मुअ कर रु चार करोड बक्यौता सङ्कलन बाँकी छ । आयकरतर्फ पनि २०७० सालयता रु चार करोड ५० लाख बक्यौता सङ्कलन बाँकी देखिएको छ ।

निजी क्षेत्र, उद्योगी, व्यवसायीमा अझै पनि कर तिर्ने बानीको विकास सहज नभएको अवस्थामा कार्यालयका प्रमुख कर अधिकृत लेखनाथ शर्माले कर तिर्ने बानीको विकासका लागि समन्वयको अभाव देखिएको बताए ।