नेपाल र कोरियाबीच साना तथा मझौला व्यवसायको विकासमा सहकार्य गर्ने उद्देश्यले एक समारोहबीच काठमाडौंमा समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घ र दक्षिण कोरियाको साना तथा मझौला व्यवसाय निगमबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । मझादारीपत्रमा महासङ्घका कार्यवाहक अध्यक्ष शेखर गोल्छा र एसबीसी कोरियाका अध्यक्ष ली साङ जीक हस्ताक्षर गरे ।
अन्तर्राष्ट्रिय बजारमा दुवै देशका साना तथा मझौला व्यवसायको प्रतिस्पर्धी क्षमता विकासका लागि नीतिगत सुधारमा पहल, विज्ञता तथा सूचना आदान प्रदान र आर्थिक व्यवासायिक सहयोग अभिवृद्धि गर्ने उद्देश्य रहेको समझदारीपत्रमा उल्लेख गरिएको छ ।
यसबाट समग्रमा साना तथा मझौला व्यवसायलाई युग सुहाउँदो रूपमा विकास गरी त्यस मार्फत दुवै देशका जनताको आर्थिक सामाजिक विकासमा सहयोग पुग्ने विश्वास गरिएको छ ।
समझदारीपत्रमा यसका उद्देश्य, सहयोगका क्षेत्र, समन्वय गर्ने अधिकारीको व्यवस्था, कार्यान्वयन इकाई, वित्तिय व्यवस्थापन लगायत गरी १५ वटा दफाहरू समेटिएका छन् । साना उद्यमीहरूलाई नीतिगत सुधारमा काम गर्न सक्ने गरी क्षमता विकासमा जोड दिने, दुवै देशमा अवलम्वन गरिएका नीति तथा कानुन, प्रविधि, ज्ञान, शीपको आदान प्रदान, बजार प्रवद्र्धन, विद्यमान ऐन कानूनलाई समय सान्दर्भिक रूपमा संशोधन गर्न आ–आफ्ना सरकारलाई अनुरोध गर्ने पनि समझदारीपत्रमा उल्लेख गरिएको छ ।
त्यसैगरी समझदारीपत्रमा दुवै संस्थाको वेभसाइट मार्फत साना तथा मझौला व्यवसाय सम्बन्धी सूचना तथा जानकारी आदान प्रदान गर्ने, एकअर्का देशमा आयोजना हुने व्यापार मेलामा साना तथा मझौला व्यवसाय सम्बन्धी विशेष प्रर्दशनीको प्रवन्ध गर्ने, यस सम्बन्धमा छलफल अन्तरक्रिया आयोजना गर्ने, साना मझौला उद्यमी व्यवसायीहरूको अध्ययन भ्रमणको व्यवस्था समयसमयमा मिलाउने, दुवै देशले अवलम्वन गरेका प्रविधिहरूका विषयमा जानकारी सहित प्रविधि हस्तान्तरणमा सहकार्य गर्ने आदि उल्लेख गरिएको छ ।
समझदारीपत्रमा हस्ताक्षर पश्चात साना तथा मझौला व्यवसायका लागि नेपाल कोरिया बीटुबी अन्तरक्रियाको समेत आयोजना गरिएको थियो । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा महासङ्घका कार्यवाहक अध्यक्ष गोल्छा, पूर्व अध्यक्ष चण्डिराज ढकाल, नेपालका लागि कोरियाका राजदूत पार्क योङ सिक, नेपाल कोरिया उद्योग वाणिज्य संघका अध्यक्ष किरण साःख, एसबीसीका अध्यक्ष ली साङ जीक र नेपाल कोरिया उवासंघका महासचिव सुनिल खेतानले मन्तव्य राखे ।
त्यसैगरी साउतीका अध्यक्ष डा. पोषराज पाण्डेले नेपालमा साना तथा मझौला व्यवसायमा लगानीको अवसर तथा साझेदारीका सम्भावना र एसबीसी कोरियाका जुङ हुवान मुनले कोरियन साना तथा मझौला व्यवसायका विषयमा प्रस्तुति दिए ।