उत्तरदायी भएर काम गरे निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयारः अर्थमन्त्री डा. खतिवडा

‘नेपाल डेभलपमेन्ट अपडेट’ कार्यक्रमलाई सम्बोधन गर्दै डा. खतिवडाले आर्थिक विकास गर्नकै लागि आयातमा निर्भर हाम्रो अर्थतन्त्रलाई सुधार्न आवश्यक रहेको बताए ।

अर्थमन्त्री डा. युवराज खतिवडाले देशको अर्थतन्त्र सुदृढ र बलियो बनाउन निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताएका छन् । उनले निजी क्षेत्र उत्तरदायी भएर काममा लाग्ने हो भने सरकार सहकार्यका लागि तयार रहेको बताएका हुन् ।

‘नेपाल डेभलपमेन्ट अपडेट’ कार्यक्रमलाई सम्बोधन गर्दै डा. खतिवडाले आर्थिक विकास गर्नकै लागि आयातमा निर्भर हाम्रो अर्थतन्त्रलाई सुधार्न आवश्यक रहेको बताए । हाल नेपाल व्यापार घाटाको भुमरीमा फसेकाले आयातमुखी अर्थतन्त्रलाई परिवर्तन गरे मात्र आर्थिक विकास गर्न सकिने उनको भनाइ छ ।

अर्थतन्त्र सुधारका लागि संस्थागत अवरोध र संरक्षणवादको चुनौती रहेको बताउँदै उनले भने, ‘सरकारले चाहेअनुसार काम भएमा दोहोरो अङ्कको आर्थिक वृद्धि सम्भव छ ।’ रोजगारीको अवसर सृजना तथा आयात विस्थापन गर्न सके ७ प्रतिशत आर्थिक वृद्धि सम्भव रहेको खतिवडाको भनाइ छ ।

यस्तै नेपाल राष्ट्र बैङ्कले भने नेपाल लगानीमैत्री राष्ट्र बन्नका लागि कर तिर्ने पद्धतिमा सुधार गर्न आवश्यक रहेको जनाएको छ । कर तिर्ने प्रक्रियालाई २०७४ मा आएको श्रम ऐनले झनै अप्ठेरो र झन्झटिलो बनाएको विश्व बैङ्कले उल्लेख गरेको छ । नेपालमा प्रशस्त लगानीको सम्भावना हुँदा हुँदै वैदेशिक लगानी भित्रिन नसकेको विश्व बैङ्कले औंल्याएको छ ।

लगानीपछिको बजार, उत्पादन तथा सेवा उपलब्ध गराउने हो भने नेपालमा लगानीको प्रचुर सम्भावना रहेको जनाइएको छ ।