जिल्लाका धरैजसो उद्योगले प्रतिस्पर्धाका कारण पहिला जस्तो मुनाफा गर्न सकेका छैनन् । “सुरुमा पर्याप्त आम्दानी भए पनि अहिले विभिन्न चुनौती खेप्नु परिरहेको छ,” भोलेबाबा फर्निचर उद्योगका सञ्चालक राजकिशोर चौधरीले भने ।
घरेलु तथा साना उद्योग कार्यालय, बाँकेमा ७८९ उद्योग दर्ता छन् । चालू आर्थिक वर्ष २०७५/७६ मा ३९० उद्योग मात्र नवीकरण गरिएका छन् ।
कार्यालयका निमित्त प्रमुख दुर्गा ओलीका अनुसार दर्ता भएका उद्योगमध्ये सबैभन्दा बढी २४८ कृषि तथा वनजन्य उद्योग छन् । निजी फार्मले दर्ता गरेका उद्योग पाँच वर्षसम्म नवीकरण गराउनु पर्दैन । पाँच वर्षपछि मात्र दुई–दुई वर्षमा नवीकरण गराउनुपर्ने प्रावधान छ । साझेदारी उद्योग प्रत्येक वर्ष नवीकरण गराउनुपर्छ भने निजी उद्योगको लेखापरीक्षण प्रतिवेदन मात्र बुझाउनुपर्छ ।
जिल्लाका धरैजसो उद्योगले प्रतिस्पर्धाका कारण पहिला जस्तो मुनाफा गर्न सकेका छैनन् । “सुरुमा पर्याप्त आम्दानी भए पनि अहिले विभिन्न चुनौती खेप्नु परिरहेको छ,” भोलेबाबा फर्निचर उद्योगका सञ्चालक राजकिशोर चौधरीले भने । जिल्लामा घरेलु तथा साना उद्योग कार्यालयमा उत्पादनमूलक उद्योग १९२, कृषि तथा वनजन्य उद्योग २४८, पर्यटन १७३ र सेवामूलक उद्योग १७६ दर्ता छन् । यहाँ सञ्चालित घरेलु तथा साना उद्योगमा करीब पाँच हजार जनाले रोजगारी पाएका छन् ।
अधिकांश उद्योगले कच्चा पदार्थ, दक्ष जनशक्ति तथा बजारको समस्या भोग्नु परेको छ । “कच्चा पदार्थ भारत तथा तेस्रो मुलुकबाट ल्याउनुपर्छ, दक्ष जनशक्तिको अभाव छ,” उद्योगपति प्रभात ठकुरीले गुनासो गरे । जिल्लामा दर्ता भएका सबै उद्योगमा एक अर्ब २२ करोड रूपैयाँभन्दा बढी लगानी गरिएको छ । ती उद्योगबाट वार्षिक तीन अर्ब ७७ करोडभन्दा बढीको सामान उत्पादन हुन्छ । घरेलु तथा साना उद्योगबाट वार्षिक ६३ लाखभन्दा बढी राजस्व सङ्कलन हुने गरेको छ । रासस