सागर एन्ड साधना बिजनेस प्रालिले भन्सार छलेर ब्रान्डेड सामान ल्याएको हो । उक्त फर्म गङ्गाबहादुर घिमिरेको नाममा छ । भन्सार पास भएर भित्र छिरेपछि राजस्व अनुसन्धानको टोलीले नियन्त्रणमा लिएको हो ।
राजस्व अनुसन्धान विभागले चाइनिज भन्दै ब्रान्डेड सामान लिएर नेपाल भित्रिएको एक कन्टेनरलाई नियन्त्रणमा लिएको छ । ब्रान्डेड कम्पनीको ट्र्याक, जुत्ता र क्याप लिएर आएको कन्टेनरले भन्सारमा चाइजिन सामान भन्दै सोहीअनुसार भन्सार तिरेको थियो ।
तर, विभागबाट खटिएको टोलीले उक्त कन्टेनरले चाइनिज नभई ब्रान्डेड सामान ल्याएको सुइको पाएपछि नियन्त्रणमा लिएको विभागका महानिर्देशक दीर्धराज मैनालीले जानकारी दिए ।
चिनियाँ सामानको भन्सार कम पर्ने र सोही भनेर ठूलो परिमाणमा ब्रान्डेड सामान भित्र्याएको उनले बताए । ‘कम भन्सार तिरेर सामान ल्याएको हुन सक्ने भएकाले अनुसन्धानका लागि कन्टेनरलाई नियन्त्रणमा लिएका छौं,’ उनले भने, ‘भन्सारका कर्मचारीले कन्टेनरवालाले जे भन्यो, त्यसैलाई आधार मानेर थोरै मात्रै भन्सार लिएका हुन् । तर, कन्टेनरमा ब्रान्डेड सामान छ ।’
सागर एन्ड साधना बिजनेस प्रालिले भन्सार छलेर ब्रान्डेड सामान ल्याएको हो । उक्त फर्म गङ्गाबहादुर घिमिरेको नाममा छ । भन्सार पास भएर भित्र छिरेपछि राजस्व अनुसन्धानको टोलीले नियन्त्रणमा लिएको हो ।
नेपालमा ९० प्रतिशतभन्दा बढी कपडा तस्करी, न्यून बीजकीकरण भएर नेपाल भित्रिने गरेको स्वदेशी कपडा उद्योगीले दाबी गर्दै आएका छन् । उक्त दाबीलाई यो घटनाले थप पुष्टि गरेको छ । महानिर्देशक मैनालीका अनुसार अहिले कन्टेनरमाथि अनुसन्धान भइरहेको छ ।