नेपालमा अझै पनि ठूलो परिमाणमा क्लीङ्कर आयात भइरहेको छ । आयात विस्थापित गर्न सके मात्रै पनि ठूलो रकम नेपाल भित्र रहने भएकाले उनको उद्देश्य क्लीङ्कर आयात रोक्ने छ ।
राजेश मेटल क्राफ्ट (आरएमसी) ग्रुपले नवलपरासीको सुनवलमा पाल्पा सिमेन्ट सञ्चालनमा ल्याउने भएको छ । आरएमसी सिमेन्ट, पाइप तथा कर्कटपाता उत्पादन गरिरहेको ग्रुपले निकट भविष्यमै पाल्पा सिमेन्ट उत्पादन गर्न लागेको हो ।
उत्पादनमूलक उद्योगमा स्थापित ग्रुप आरएमसीले पाल्पा सिमेन्ट इन्डष्ट्रिज प्रालिमार्फत नयाँ सिमेन्ट उद्योग ल्याउन लागेको ग्रुपका प्रवन्ध निर्देशक राजेश अग्रवालले जानकारी दिए ।
यसअघि अग्रवालले आरएमसी जस्तापाता, सिमेन्ट र पाइप उद्योग लगाएका थिए । अहिले पाल्पा सिमेन्ट ल्याउन लागेका हुुन् ।
‘उद्योगको ८० प्रतिशत काम पूरा भइसकेको छ । अहिले धमाधम मेसिन जडानको काम सुरु भएको छ,’ उनले भने, ‘पुस मसान्तसम्म क्लीङ्कर उत्पादन गर्ने लक्ष्य छ ।’
चैतबाट सिमेन्ट बजारमा ल्याउने गरी काम अघि बढेको उनको भनाइ छ । पाल्पा सिमेन्टबाट दैनिक तीन हजार टन सिमेन्ट उत्पादन हुने अग्रवालले जानकारी दिए । प्रत्येक वर्ष सिमेन्ट तथा रडको माग १५ प्रतिशत बढेको र सोही मागलाई पूरा गर्न नयाँ उद्योग लगाउन थालेको उनको भनाइ छ ।
आरएमसी सिमेन्टले पूर्वको बजार मागलाई पूरा गरे पनि मध्य, पश्चिम तथा सुदूरपश्चिमका जिल्लामा आरएमसीको बजार नभएको र सोही बजारलाई पूर्ति गर्न पाल्पा सिमेन्ट ल्याउन लागेको अग्रवालले जानकारी दिए ।
नेपालमा अझै पनि ठूलो परिमाणमा क्लीङ्कर आयात भइरहेको छ । आयात विस्थापित गर्न सके मात्रै पनि ठूलो रकम नेपालभित्र रहने भएकाले उनको उद्देश्य क्लीङ्कर आयात रोक्ने छ ।
त्यसैगरी, आरएमसीले भारतबाट क्लीङ्कर आयात गरेर सिमेन्ट बनाइरहेको छ । पाल्पा सिमेन्टले क्लीङ्कर उत्पालन थालेपछि त्यहीँबाट क्लीङ्कर लगेर आरएमसी सिमेन्ट बनाउने उनको योजना छ ।
आरएमसीले दैनिक ८ सय टन सिमेन्ट उत्पादन गरिरहेको छ । ग्रुपले ल्याउन लागेको सिमेन्ट उद्योगमा नेपाल इन्भेष्टमेन्ट बैङ्कसहित ६ ओटा बैङ्कको लगानी छ । कम्पनीको खानी पाल्पाको रहवास गाविसमा छ । खानी र उद्योगसम्मको दूरी ३० किलोमिटर छ ।