श्रमिकले मूल्य नपाउँदा चिया उत्पादनमा असर

अर्गानिक हिसाबले उत्कृष्ट मानिएको अर्थोडक्स चिया विदेशी मुलुकमा निर्यात हुने गर्छ । पछिल्लो समय चियामा रसायनयुक्त विषादीको प्रयोगले पनि अन्तर्राष्ट्रिय बजार प्रवेशमा प्रभाव पर्ने गरेको छ ।

चिया किसान/श्रमिकले उचित मूल्य(ज्याला) नपाउँदा चिया उत्पादनमै असर पुगेको छ । उचित ज्याला नपाउँदा चिया श्रमिकहरु चिया खेती छोडेर पलायन भइरहेको बताइएको छ ।

अन्तर्राष्ट्रिय श्रमिक सङ्गठन(आर्इएलओ) र नेपाल उद्योग परिसङ्घले सोमबार आयोजना गरेको अन्तर्क्रियामा अधिकांश सहभागीहरुले चिया खेतीमा देखिएका समस्या नीतिगत रुपमै समाधान नगरे चिया उत्पादनमा असर पुग्ने बताएका हुन् ।

नेपाली चियाको उत्पादन, चिया श्रमिकका समस्या, उचित मूल्य निर्धारण लगायतका विषयमा सरकारले निजी क्षेत्रसँग समन्वय गर्नुपर्ने उद्योगीहरुले बताएका थिए । सरकारले स्पष्ट नीति बनाई चिया उद्योगी तथा श्रमिकको समस्या समाधान नगरेसम्म चियाको उत्पादन र उत्पादकत्व बृद्धि गर्न र निर्यात प्रवर्द्धन गर्न नसकिने नेपाल उद्योग परिसङ्घका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले बताए । उनले व्यवसायिक चिया उत्पादन बृद्धि गर्न चिया उत्पादक किसान, श्रमिक र उद्योगी व्यवसायीका समस्यामा समाधान गर्नतर्फ लाग्नुपर्ने बताए । ‘अहिले चियाको उचित मूल्य नपाएर किसानहरु विस्थापित हुने अवस्थामा छन् । अधिकांश युवाहरु पलायन हुँदैछन्’ उनले भने, ‘त्यसैले चिया उत्पादन हुने जमिन, उद्योगी र श्रमिकका समस्या समाधान पोलिसी लेबलबाटै गरिनुपर्छ ।’

अहिले नेपालमा अर्थोडक्स, ग्रीनटी र सीटीसी चिया उत्पादन हुदै आएको छ । अर्गानिक हिसाबले उत्कृष्ट मानिएको अर्थोडक्स चिया विदेशी मुलुकमा निर्यात हुने गर्छ । पछिल्लो समय चियामा रसायनयुक्त विषादीको प्रयोगले पनि अन्तर्राष्ट्रिय बजार प्रवेशमा प्रभाव पर्ने गरेको छ । अर्थोडक्स चियाको उत्पादन र अन्तर्राष्ट्रिय बजार माग बढेपछि चिया किसान, श्रमिकले भने उचित मूल्य पाउन सकेका छैनन् । सरकारले चियाको व्यवसायीकरणका लागि स्पष्ट नीति र मापदण्ड नतोकिँदा चिया क्षेत्र धरासयी बन्ने सक्ने सम्भावना रहेको उद्योगीहरुकाे भनाइ थियो ।

नेपालको चिया उत्पादन क्षेत्र अनुकूल मौसम र माटो सुहाउँदो भएपनि चिया उत्पादन, उत्पादकत्व वृद्धि र निर्यात प्रवर्द्धन गर्न सरकार, सरोकारवाला र सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका हुने राष्ट्रिय चिया तथा कफी विकास बोर्डका उप निर्देशक आरपी चौधरीले बताए । उनले सरकारले नीतिगत समस्या समाधान गर्दै अर्गानिक र गुणस्तरीय चिया उत्पादन गरी निर्यात प्रवर्द्धनमा जोड दिनुपर्ने बताए । नेपालमा विभिन्न वर्षहरुमा चिया उत्पादनको अवस्थामा सुधार हुँदै गएको भन्दै चौधरीले अर्थोडक्स चियाजस्तै अन्य सीटीसी चियालाई पनि अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन जैविक मलको प्रयोगमा जोड दिनुपर्ने बताए ।

यसअघि नै नेपाल उद्योग परिसङ्घ र स्थानीय सरकारको समन्वयनमा राष्ट्रिय चियाको रुपमा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन चियाको ‘लोगो’ सार्वजनिक भइसकेको छ ।