कालीगण्डकी करिडोरका आयोजना प्रमुख नारायणदत्त भण्डारीका अनुसार पर्वतको सदरमुकाम कुश्माबजार नजिकै मोदीवेणीमा निर्माण हुन लागेको पुल साठी मिटर लामो तथा ११ मिटर चौडा हुनेछ
पर्वत । उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना अन्तर्गत कालीगण्डकी करिडोरको पर्वतखण्डमा सवारी साधान चल्ने नौ करोड १४ लाखको लागतमा दुईओटा पुलको निर्माण कार्य सुरु भएको छ । उक्त खण्डमा निर्माण गरिने तीनओटा पुलमध्ये मोदीखोला र लमायखोलामा पुल निर्माण थालिएको हो । करिडोरको पर्वत र स्याङ्जाखण्डमा चारओटा पुल निर्माण हुँदैछन् ।
कालीगण्डकी करिडोरका आयोजना प्रमुख नारायणदत्त भण्डारीका अनुसार पर्वतको सदरमुकाम कुश्माबजार नजिकै मोदीवेणीमा निर्माण हुन लागेको पुल साठी मिटर लामो तथा ११ मिटर चौडा हुनेछ । पुल २०७५ असारसम्ममा सम्पन्न हुनेगरी निर्माण शुरु गरिए पनि पुलको निर्माणस्थल परिवर्तन गर्नुपरेका कारण थप एक वर्ष ढिला हुन सक्ने आयोजना प्रमुख भण्डारीले बताए । मोदीखोलामा पक्की पुल निर्माणपछि पर्वतको सदरमुकाम कुष्माबजारदेखि क्षेत्र नं २ का फलेवास नगरपालिका, बिहादी, महाशिला र पैञ्यु गाउँपालिका तथा बागलुङका जैमुनी नगरपालिकाका बासिन्दा लाभान्वित हुनेछन् ।
यसैगरी लमायखोलामा पनि रु पाँच करोड १३ लाख दुई हजारको लागतमा पुल निर्माण हुने उक्त आयोजनाले जनाएको छ । पुल २५ मिटर लामो र ११ मिटर चौडाइको हुने आयोजना प्रमुख भण्डारीले बताए । यो पुल पनि २०७६ साल असारमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यसबाहेक पर्वतको विहादी गाउँपालिका र स्याङ्जाको कृष्णगण्डकी गाउँपालिकाको बीचमा पर्ने सेतीवेणी र स्याङ्जाको मिर्मीमा आँधीखोलामा पनि पुल निर्माणको तयारी भइरहेको छ । चारओटै पुल निर्माणपछि स्याङ्जाको मिर्मीदेखि पर्वतको मालढुङ्गासम्म ५५ किमीमा बाह्रै महिना सावरी साधन चल्नेछ । करिडोरको पर्वतखण्डमा दुई किमीमात्रै मार्ग खोल्न बाँकी छ ।
प्रदेशसभा सदस्य विकास लम्सालले यस खण्डमा चारोटै पुल निर्माण भएपछि मुस्ताङबाट सोझै गैँडाकोटसम्म सवारीसाधन चल्ने हुँदा पर्वतको आर्थिक र सामाजिक विकासमा टेवा पुग्ने बताए ।