चीनको पहिलो अन्तराष्ट्रिय आयात एक्स्पोमा नेपालका ६ कम्पनी

एक्सपाेमा विश्वभिरका एक सय २० मुलुकका एक लाख ५० हजार दर्शक अवलाेकनका लागि अाउने अपेक्षा गरिएकाे छ ।

चीनको आर्थिक राजधानी साङघाईमा पहिलो अन्तर्राष्ट्रिय आयात एक्स्पो सुरू भएको छ । एक्स्पो चिनियाँ राष्ट्रपति शी जिङपिङले उद्घाटन गरेका छन् ।एक्स्पोमा विश्वभरबाट सय देशका तीन हजार कम्पनीले भाग लिएका छन् । एक्स्पोमा एसियाली र अफ्रिकी मुलुकका धेरै स्टल छन् ।

अमेरिकासँग व्यापार युद्धमा रहेको चीनले अमेरिकी आयातको विकल्पमा एसिया र अफ्रिकाबाट उत्पादित सामानलाई प्राथमिकता दिन खोजेको छ ।

एक्स्पोमा नेपालका छ अाेटा कम्पनीले सहभागिता जनाएका छन् । नेपालबाट भाग लिने कम्पनीहरूमा अन्टी ट्राभल्स, अराउन्ड द हिमालय, क्रियटिभ इन्ड्रस्ट्रिज एन्ड इन्टरप्राइजेज, पैचो पसल, बी किपिङ एन्ड रिसर्च सेन्टर, याक एन्ड यति तथा ह्यान्ड नट्स नेपाल छन् ।  चीनमा नेपाली उत्पादन निर्यात गर्ने उद्देश्यले खाद्यवस्तु उत्पादक कम्पनी पैचो पसल प्रालिले अाफ्नाे सहभागिता जनाएकाे छ ।

 आफ्नो बृहत् बजारलाई आवश्यक पर्ने प्रविधि, मेसिन, खाद्यवस्तु, सेवा तथा सबै प्रकारका आवश्यक सामग्री विश्वभरिबाट आयात गर्ने उद्देश्यले चीनले पहिलोपटक आयात एक्स्पोको आयोजना गरेको हो ।

एक्सपाेमा विश्वभिरका एक सय २० मुलुकका एक लाख ५० हजार दर्शक अवलाेकनका लागि अाउने अपेक्षा गरिएकाे छ । एक्सपाे ५ देखि १० नाेभेम्बर (कात्तिक १९ देखि २४ गते)सम्म चल्नेछ ।