खर्बभन्दा बढी लगानी, हरेक उद्योगको उत्पादन दोब्बर

सरकारले पाँच वर्षअघि सिमेन्ट तथा स्टील उद्योगलाई संरक्षण गर्नुका साथै सिमेन्ट तथा रड आयातमा भन्सार बढाएपछि त्यसको सकारात्मक प्रभाव घरेलु उद्योगमा परेको हो ।

सरकारले केही उद्योगलाई संरक्षण नीति लिएपछि नेपालमा सिमेन्ट तथा स्टील उद्योग खुल्नेक्रम निरन्तर बढेको छ ।

सरकारले पाँच वर्षअघि सिमेन्ट तथा स्टील उद्योगलाई संरक्षण गर्नुका साथै सिमेन्ट तथा रड आयातमा भन्सार बढाएपछि त्यसको सकारात्मक प्रभाव घरेलु उद्योगमा परेको हो ।

सरकारले संरक्षण गरेकै कारण नेपालमा सिमेन्ट तथा रड उद्योगमा खर्ब रुपैयाँभन्दा बढी लगानी भएको छ ।

आरएमसी गु्रपका प्रबन्ध निर्देशक राजेश अग्रवालले पाँच वर्षयतादेखि नेपालमा सिमेन्ट र रडमा लगानी दोब्बरले बढिरहेको बताए । ‘भारतबाट आयात हुने सिमेन्टको भन्सारमा वृद्धि, सहज विद्युत् पहुँच, पूर्वाधार निर्माणमा सहयोग गरेकै कारण सिमेन्ट उद्योगमा उद्योगीको आकर्षण बढेको हो,’ उनले भने, ‘सरकारको संरक्षण भएकाले नयाँ नयाँ उद्योग लगाउने काम भइरहेको छ । त्यसका अतिरिक्त भएका उद्योगले पनि क्षमता विस्तार गरेका छन् ।’

आरएमसी ग्रुपले पाल्पा सिमेन्ट ल्याउँदै छ । त्यसैगरी, अम्बे ग्रुप र शङ्कर ग्रुप मिलेर रिद्धिसिद्धि सिमेन्ट उद्योग लगाइसकेका छन् । रिद्धिसिद्धि अहिले उत्पादनको तयारीमा छ । केही समयअघि मात्रै होङ्सी शिवम् सिमेन्ट उद्योग आइसकेको छ । होङ्सी शिवम्ले आफ्नो उत्पादन बजारमा ल्याइसकेको छ ।

त्यसैगरी, रिद्धिसिद्धि ग्रुपले सौर्य सिमेन्ट पनि लगाउने तयारी थालेको छ । उता, दाङमा सम्राट सिमेन्ट पनि आउँदै छ ।

झन्डै एक दर्जन नयाँ सिमेन्ट उद्योग आउँदै छन् भने दर्जनभन्दा बढी सिमेन्ट उद्योगले क्षमता विस्तार गर्दैछन् । अर्घाखाँची सिमेन्टले तीन हजार टन क्षमता पु¥याएको छ । त्यसैगरी, सर्वोत्तम सिमेन्टले पनि क्षमता विस्तार गर्दै छ । सीजी सिमेन्टले पनि क्षमता विस्तारका लागि आवश्यक प्रक्रिया अघि बढाएको छ ।

आउन लागेका नयाँ सिमेन्ट उद्योगले झन्डै ४० अर्ब रुपैयाँ लगानी गर्दैछन् । त्यसैगरी, क्षमता विस्तार गर्ने र गरिसकेका उद्योगले पनि सोही हाराहारीमा लगानी थपेको अम्बे ग्रुपका प्रबन्ध निर्देशक हरि न्यौपानेले जानकारी दिए । ‘अहिले सिमेन्ट तथा स्टील उद्योगमा सम्भावना पनि बढी र राज्यको पनि ठूलो सहयोग छ,’ उनले भने, ‘सरकारले सहयोग गरेका कारण यो क्षेत्र फस्टाएको छ ।’

नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा अर्घाखाँची सिमेन्ट प्रालिका अध्यक्ष पशुपति मुरारकाले सिमेन्ट उद्योगलाई सरकारले संरक्षण गरेकाले यस क्षेत्रमा लगानी बढेको बताए । ‘सरकारले सम्भावनायुक्त क्षेत्रमा यसैगरी संरक्षण नीति लिनुपर्छ,’ उनले भने, ‘यदि सरकारले सम्भावनाको पहिचान गर्ने हो भने, देश आर्थिक रुपमा सम्पन्न हुन्छ ।’

आरएमसी ग्रुपका प्रबन्ध निर्देशक अग्रवालका अनुसार नेपालमा वार्षिक १५ प्रतिशतले सिमेन्ट तथा स्टीलको माग बढिरहेको छ । ‘जुन क्षेत्रमा माग बढी हुन्छ त्यो क्षेत्रमा लगानी आउनु स्वाभाविक हो,’ उनले भने, ‘उद्योगीले सम्भावना हेरेरै लगानी गर्ने हो ।’

सेवामूलक, उत्पादनमूलक तथा ट्रेडिङमा स्थापित ग्रुप लक्ष्मी इन्टरकन्टिनेन्टलले पनि निकट भविष्यमा स्टील उद्योग सञ्चालनमा ल्याउँदै छ । त्यसबाहेक अन्य औद्योगिक घरानाले पनि नयाँ स्टील उद्योग सञ्चालनमा ल्याउने तयारी थालेका छन् ।