चीनको एक्स्पोमा नेपाली सामानप्रति आकर्षण, निर्यातको लागि नयाँ संभावना

चीनको आर्थिक राजधानी साङ्घाईमा जारी अन्तराष्ट्रिय आयात प्रदर्शनीमा नेपाली स्टलमा राम्रो ‘फुटफल’ भएको र आयातकर्ताहरुसँग सिधा सम्पर्क भएको नेपाली प्रदर्शनीकर्ताहरुले जनाएका छन् ।

नेपालको तर्फबाट १४ प्रतिनिधि विश्वको पहिलो आयात एक्स्पोमा सहभागी भएका छन् । एक्स्पो गत सोमबारदेखि सुरु भएको थियो । विश्वका १ सय ७२ देशका क्षेत्रिय तथा अन्तराष्ट्रिय कम्पनीहरु एक्स्पोमा सहभागी रहेका छन् ।

नेपाली स्टलमा अपेक्षा गरिएको भन्दा धेरै आगन्तुकहरु आएको नेपाली टोलीले चीनियाँ समाचारमाध्या सिन्ह्वालाई जानकारी गराएका छन् ।

प्रदर्शनीमा नेपालले नेपाली कार्पेट, गार्मेन्ट, हस्तनिर्मित कागज, स्थानिय कला, सेरामिक, चाँदीका गहनाहरु, चिया, कफीलगायतका सामानहरु प्रदर्शनीमा राखेका छन् । नेपाल हस्तकला महासंघका अध्यक्ष धर्मराज शाक्यले एक्स्पोमा नेपाली स्टलमा आगन्तुकहरु अपेक्षाभन्दा बढि आएको बताए । आन्तुकहरुले चासोसहित नेपाली प्रदर्शनीलाई हेरेको र त्यसविषयमा जानकारी लिएको उनले बताए ।

आगन्तुकमध्ये केहिसँग नेपाली सामानलाई निर्यात गर्नका लागि सिधा सम्पर्क भएको उनले जनाएका छन् । संभावित निर्यातकर्तासँग गम्भिर रुपमा पनि छलफल भएको छ, यसले आगामी व्यापारमा सहयोग पुराउँछ, उनले सिन्ह्वासँग कुराकानी गर्दै भनेका छन् ।

नेपाल राष्ट्र बैंकको गत आर्थिक बर्षको तथ्याँकअनुसार नेपालले ४.६ मिलियन अमेरिकी डलर बराबरको हस्तकला चीनमा निर्यात गरेको थियो ।

एक्स्पोमा विश्वभरबाट तीन हजार कम्पनीले भाग लिएका छन् । एक्स्पो आगामी कार्तिक २४ गतेसम्म सञ्चालन हुनेछ ।