विदेशबाट फर्किएका युवाकाे पहिलाे राेजाइ कृषि र पशुपालन

विदेशमा बगाएको पसिना स्वदेशमै बगाउन सके त्यहाँ जत्तिकै आम्दानी गर्न सकिने सोचका साथ तनहुँको भीमाद नगरपालिका–५ बुडुफाँटका कृष्णप्रसाद गैरे पाँच वर्ष अगाडि नेपाल फर्किए ।

६ वर्ष ९ महिना कतार बसेका गैरे विसं २०७० मा स्वदेश फर्किएर व्यावसायिक कृषि र पशुपालनमा आबद्ध भए । गैरेले तरकारीखेती र पशुपालनबाट वार्षिक रु सात लाखभन्दा बढी आम्दानी गरिरहेका छन् ।

‘विदेशमा काम गर्दा जति दुःख गरियो त्यति दुःख त स्वदेशमै गरेपनि आम्दानी गर्न सकिन्छ भन्ने लाग्यो,’ उनले भने, ‘अनि आफ्नै गाउँ आएर तरकारीखेती शुरु गरेँ ।’ तरकारीखेतीबाटै गैरेले वार्षिक रु पाँच लाखभन्दा बढी आम्दानी गरिरएका छन् ।

तरकारीखेतीसँगै पशुपालनसमेत गरेका गैरेले भैँसीको दूध बिक्रीबाट वार्षिक रु दुई लाखभन्दा बढी आम्दानी हुने गरेको बताउँछन । उनका अनुसार दैनिक २० माना दूध बिक्री हुने गरेको छ । तरकारी र दूध बिक्रीका लागि बजारको कुनै समस्या नरहेको उनकाे बताए ।

युवा अभावमा धान काट्न समस्या 
तनहुँको व्यास नगरपालिका–८ रिस्तीका पुरुषोत्तम रेग्मी गाउँमा युवा नहुँदा धान काट्न समस्या भएको प्रति चिन्तित छन् । गाउँमा काम गर्ने युवा नहुँदा भनेको दिनमा धान काट्न नपाएको र खेतमै धान झरेर जाने समस्या रहेको उनकाे भनाइ छ ।

युवाहरु वैदेशिक रोजगारीको सिलसिलामा विदेशिनु र गाउँमा अधिकांशको घरमा वृद्ध आमाबाबु मात्रै रहेका कारण धान काट्न समस्या भएको उनकाे भनाइ छ ।

सोही ठाउँकै रामप्रसाद मिश्रले समेत गाउँमा युवा नहुँदा धान काट्न समस्या भएको गुनासो गरे । “अधिकांश युवा वैदेशिक रोजगारका लागि विदेश र अध्ययनका लागि शहरबजार झरेपछि गाउँमा धान काट्न समस्या भएको हो”, उनले भने । रासस