रेडक्रसलाई १३ करोड सहयोग

नेपाल रेडक्रस सोसाइटीले विपद्का समयमा उपयोग गर्न भक्तपुरमा सो गोदामघर निर्माण गर्दैछ ।

रेडक्रस सोसाइटी चीनले नेपाल रेडक्रस सोसाइटीलाई केन्द्रीय गोदामघर निर्माण गर्न १३ करोड रुपैयाँ सहित प्राविधिक सहयोग गर्ने भएको छ ।

नेपाल रेडक्रस सोसाइटीले विपद्का समयमा उपयोग गर्न भक्तपुरमा सो गोदामघर निर्माण गर्दैछ । सो सहयोगसम्बन्धी सम्झौतापत्रमा नेपाल रेडक्रस सोसाइटीका महामन्त्री देवरत्न धाख्वा र चीन रेडक्रसका उपाध्यक्ष वाङ हाइजिङले आज यहाँ हस्ताक्षर गरे । आगामी दुई वर्षभित्र गोदामघरको निर्माण सम्पन्न हुने सोसाइटीका मानवीय तथा सञ्चार विभागका प्रमुख दिव्यराज पौडेलले जानकारी दिए । सोसाइटीका अध्यक्ष सञ्जीव थापाले विसं २०७२ को भूकम्पपछि ठूलो क्षमताको गोदामघरको आवश्यकता खट्किएको चर्चा गर्दै गोदामघर निर्माणमा चीन रेडक्रसबाट प्राप्त सहयोगका लागि धन्यवाद दिए ।

चीन रेडक्रसका उपाध्यक्ष हाइजिङले नेपाल रेडक्रसलाई गोदाम घर निर्माणका साथै अन्य क्षेत्रमा पनि सहयोग जारी रहने बताए । सोसाइटीका महामन्त्री धाख्वाले नेपाल रेडक्रसको सन् २०२० सम्मको विकास योजनाअनुसार गोदामघर निर्माण परियोजना प्रस्तुत गरिएको बताए ।