डबल सर्किटमा निर्माण भइरहेको प्रसारण लाइनको एउटा सर्किटतर्फको काम पूरा भइसकेको छ । अर्को सर्किटतर्फको काम ८ किलोमिटर मात्रै निर्माण गर्न बाँकी रहेको आयोजनाले जनाएको छ ।
२२० केभी खिम्ती—ढल्केबर प्रसारण लाइनको ६७ किलोमिटर पोल ठड्याउने, तार टाँङने र लाइन विस्तार गर्ने काम सकिएको छ । डबल सर्किटमा निर्माण भइरहेको प्रसारण लाइनको एउटा सर्किटतर्फको काम पूरा भइसकेको छ । अर्को सर्किटतर्फको काम ८ किलोमिटर मात्रै निर्माण गर्न बाँकी रहेको आयोजनाले जनाएको छ ।
दोस्रो सर्किटतर्फको ४५ किलामिटर निर्माणका लागि टेन्डर भई यसअघि नै निर्माण सुरु भएको थियो । ८ किलोमिटर प्रसारण लाइन निर्माण गर्न भारतबाट कन्डक्टर आउन ढिलाइ भएपछि काम अघि बढ्न नसकेको प्राधिकरणका उपकार्यकारी निर्देशक बज्रभूषण चौधरीले बताए । उनले सहायक कन्डक्टर साइटमा पुगेर काम अघि बढाएको खण्डमा डेढ महिनाभित्र नै प्रसारण लाइन निर्माणको काम सकिने बताए । उनका अनुसार, आयोजनाले भारतबाट कन्डक्टर ल्याउन प्राधिकरणलाई मौखिक रुपमा मात्रै जानकारी गराएको छ । ‘खिम्ती ढल्केबर प्रसारण लाइन ८ किलोमिटर मात्रै बनाउन बाँकी छ,’ उनले भने, ‘कन्डक्टर साइटमा पुगरे काम सुरु गरे भने एक/डेढ महिनामा सबै काम सकिन्छ ।’
कुल ७५ किमीमध्ये बनाउन बाँकी ८ किलोमिटर प्रसारण लाइन एक महिनाभित्र सुरु गरिसक्नेगरी अगाडि बढेको प्रसारण लाइन आयोजनाका प्रमुख श्यामकुमार यादवले जानकारी दिए । उनले २÷३ महिनाभित्र प्रसारण लाइनको काम सक्ने लक्ष्य लिएको बताए ।
दोलखामा निर्माणाधीन ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् यसै प्रसारण लाइनमार्फत् राष्ट्रिय ग्रीडमा जोडिने छ । ढल्केबर सबस्टेसनदेखि दोलखाको खिम्ती सबस्टेसनसम्म जोडिने गरी यो प्रसारण लाइन निर्माण हुनेछ । प्रसारण लाइन निर्माण भएपछि ठूला तथा साना जलविद्युत् आयोजनामार्फत् विभिन्न करिडोर यसै प्रसारण लाइनमा जोडिने छ ।
भारतसँग विद्युत् लेनदेन र इनर्जी बैङ्किङ गर्न यो प्रसारण लाइन कोशेढुङ्गा हुने छ ।