भरतपुर महानगरपालिकाको बजेट तीन अर्ब

सहरी विकास मन्त्रालयमार्फत प्राप्त तीन अर्ब रुपैयाँको बजेटबाट राप्ती र नारायणी नदीमा तटबन्ध गरी वन्यजन्तु बस्तीमा पस्न नदिन पर्खालसहितको मेसजाली निर्माण गर्नका लागि नगरसभामा प्रस्ताव पेस गरिने छ ।

तीन अर्ब रुपैयाँको बजेट प्रस्ताव गर्दै भरतपुर महानगरपालिकाको प्रथम नगरसभा शुक्रबारदेखि सुरु हुने भएको छ । बजेटले पूर्वाधार विकासलाई प्रमुख प्राथमिकतामा राखेको नगरप्रमुख रेनु दाहालका प्रेस सल्लाहकार सुरेशचन्द्र अधिकारीले बताएका छन् ।

‘महानगरभित्र सडक कालोपत्रलाई अभियानका रुपमा सञ्चालन गरिनेछ,’ अधिकारीले भने । सहरी विकास मन्त्रालयमार्फत प्राप्त तीन अर्ब रुपैयाँको बजेटबाट राप्ती र नारायणी नदीमा तटबन्ध गरी वन्यजन्तु बस्तीमा पस्न नदिन पर्खालसहितको मेसजाली निर्माण गर्नका लागि नगरसभामा प्रस्ताव पेस गरिने उनले बताए । केन्द्र र प्रदेशसँग सहकार्य गरी महानगरीय रिङरोड र लिङ्क रोड यसैवर्षबाट सुरु गरिनेछ,’ अधिकारीले भने ।

नगरसभामा सिटी हल, चित्रवनमा बन्दै गरेको राष्ट्रियस्तरको रङ्गशालाको निर्माण कार्यलाई अगाडि बढाउने, नारायणी नदीमा तीन ठाउँमा पुल निर्माण गर्ने, नारायणगढको लायन्सचोकमा भूमिगत पार्किङसहितको व्यावसायिक भवन निर्माण गर्नेलगायतका महत्वपूर्ण योजना प्रस्ताव गरिँदैछ । नगरसभाले स्थानीय सरकारको संवैधानिक अवधारणाअनुसार नीति तथा कार्यक्रम र कानुन निर्माण गर्ने प्रेस सल्लाहकार सुरेशचन्द्र अधिकारीले बताए ।