बुटवलमा विद्युत् चोर्ने साढे दुई हजार ग्राहक कारबाहीमा

केन्द्रले विद्युत् चुहावट नियन्त्रणमा कडाई गर्दै सो अवधिमा डिमान्ड चुहावटअन्र्तगत २ हजार ५ सय ४६ ग्राहकलाई कारबाही गरी एक करोड ३७ लाख ४३ हजार २ सय ३० रुपैयाँ रकम उठाएको छ ।

बुटवल वितरण केन्द्रले डेढ वर्षको अवधिमा विद्युत् चुहावट गर्ने साढे दुई हजार ग्राहकलाई कारबाही गरेको छ । केन्द्रले विद्युत् चुहावट नियन्त्रणमा कडाई गर्दै सो अवधिमा डिमान्ड चुहावटअन्र्तगत २ हजार ५ सय ४६ ग्राहकलाई कारबाही गरी एक करोड ३७ लाख ४३ हजार २ सय ३० रुपैयाँ रकम उठाएको छ ।

त्यस्तै, विद्युत् चुहावटअन्र्तगत २१ जनालाई कारबाही गरी उनीहरुबाट ८ लाख ८६ हजार ६ सय ७२ रुपैयाँ उठाइएको केन्द्रले जनाएको छ । प्रत्यक्षरुपमा विद्युत् हुकिङ गरी विद्युत् चोर्ने ८ जनालाई कारबाही गरी २ लाख ४३ हजार ९ सय ७२ रुपैयाँ सङ्कलन भएको छ ।

त्यस्तै, विद्युत् महसुल सङ्कलन विनियमावली, २०७३ ले निर्देशन गरेबमोजिम ग्राहकको वर्गीकरण सुधारअन्र्तगत २ सय ७१ जना ग्राहकको वर्गीकरण सुधार गरिएको छ । जसबाट ८९ लाख २९ हजार ३ सय १६ रुपैयाँ असुल गरिएको छ ।

नियमित रुपमा बिल नबुझाउने र बक्यौता बाँकी राख्ने १ हजार १ सय ३८ ग्राहकको लाइन काटी सोबाट २ करोड ४० लाख ८ सय ७७ रुपैयाँ असुल उपर गरेको छ । विद्युत् चुहावट गर्ने १० जना ग्राहकलाई कालोसूचीमा राखी उनीहरुबाट एक लाख ८८ हजार २ सय २२ रुपैयाँ उठाइएको वितरण केन्द्र प्रमुख सञ्जयकुमार मिश्रले बताए ।

उनले गत आव २०७४/०७५ को बीचमा विद्युत् चुहावट १२ दशमलव ३४ प्रतिशतबाट ९ दशमलव ९४ प्रतिशत झारिएको बताए । उनले २०७४/०७५ मा १० हजार ग्राहक बढेको बताए । केन्द्रले चालू आव २०७५/०७६ मा ७ दशमलव ३८ प्रतिशतमा विद्युत् चुहावट झार्ने लक्ष्य लिएको छ ।

केन्द्रले २०७३/०७४ को तुलनामा २०७४/०७५ मा २३ दशमलव १९ प्रतिशत आम्दानी बृद्धि गरेको केन्द्र प्रमुख मिश्रले बताए ।