बक्यौता रकम उठाउन विमानस्थल कार्यालयले एयर एसिया मलेसियालाई पत्र काट्यो

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयले यात्रु सेवा शुल्क र पर्यटन सेवा शुल्कको बाँकी बक्यौता नतिर्ने मलेसियाको एयर एसियालाई पुरा रकम तिर्नका लागि मलेसियाको कार्यालयलाई नै पत्र काटेको छ ।

एयर एसियाले तोकेको समयमा पुरा रकम नतिरेको भन्दै विमानस्थल कार्यालयले नेपालको प्रतिनिधी कार्यालयमार्फत मलेसिया कार्यालयलाई पत्र काटेको हो । एयर एसियाले यात्रु सेवा शुल्क र पर्यटन सेवा शुल्क गरेर ७ करोड रुपैयाँ तिर्न बाँकी छ । २१ करोड बक्यौता राखेको एयर एसियाले एक महिनामा १४ करोड रुपैयाँ भुक्तान गरिसकेको कार्यालय जनाएको छ ।

एयर एसिया एयरलाइन्सको नेपाल जिएसए इन्भेटिभ ट्राभलका वित्त निर्देशक किरण खड्काले एयर एसियाले किस्ता किस्तामा सबै रकम तिर्र्दै गैरहेको बताए । ‘१४ करोड भुक्तान भैसकेको छ, बाँकी भुक्तानका प्राधिकरणले नै पुससम्मको समय दिएकाले त्यो समयभित्र सबै बक्यौता भुक्तान हुन्छ,’ उनले भने ।

विमानस्थल कार्यालयका महाप्रबन्धक देवानन्द उपाध्यायले सयममै रकम तिर्नका लागि एयर एसियाको मलेसिया कार्यालयलाई पत्र काटेको बताए ।