अख्तियारले गौतममाथि अकुत सम्पत्ति कमाएको उजुरीका आधारमा पनि अनुसन्धान गरेको छ । सबै उजुरीमा बयान दिइसकेका गौतमले नयाँ बन्ने सरकारको हवाला दिँदै कारवाहीबाट जोगिँदै आएका छन् । अख्तियारले मुद्दा दायर गर्ने तयारी गरेपछि महानिर्देशक गौतमले राजनीतिक लबिइङ सुरु गरेको अख्तियार स्रोतले बतायो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले देशको विभिन्न भागमा रहेको प्राधिकरणको जग्गामार्फत अनियमितता गर्दै आइरहे पनि राजनीतिक संरक्षणका कारण उनलाई कुनै कारवाही भएको छैन । गौतममाथि अकुत सम्पत्ति र अनियमितताका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्जन उजुरी परे पनि सरकार परिवर्तनको समय भन्दै मन्त्रालयले कुनै कारवाही गर्न सकेको छैन ।
गौतमले आफ्नो पदको दुरुपयोग गरी विभिन्न जग्गामार्फत अनियमितता गरेको र प्राधिकरणलाई आर्थिक भार पारेको विषयमा अख्तियारले अनुसन्धान गरिरहेको छ । विभिन्न उजुरीमा दर्जन पटक बयान दिइसकेका गौतम राजनीतिक संरक्षणका कारण कारवाही हुनबाट जोगिएका हुन् ।
गौतमले मिलेमतोमा बिनाटेन्डर एयरपोर्टको जग्गा वेद उप्रेती ट्रस्टलाई उपलब्ध गराएको र त्यसको सम्झौतापत्रसमेत लुकाएका थिए । त्यस्तै हिमालयन एयरलाई उपलब्ध गराएको जग्गा पनि बिनाटेण्डर दिएको भन्दै अख्तियारले सचेत गराउँदै बयान लिएको थियो । पोखरा विमानस्थलका लागि आवश्यक जग्गा चाहिएको ठाउँमा नलिई जग्गा दलालसँगको मिलेमतोमा अन्य ठाउँमा लिएको, भैरहवास्थित गौतमबुद्ध विमानस्थल निर्माण गर्न चाहिने भन्दा झन्डै २४ अर्ब रुपैयाँभन्दा बढी मूल्य पर्ने जग्गा लिएको, हेली एयरलाई गैरकानुनी रुपमा पोखरालाई आधार क्षेत्र स्वीकृति दिएको विषयमा अख्यितारमा उजुरी परेको छ ।
अख्तियारले अहिले यी विषयको अनुसन्धान गरे पनि कारवाही प्रक्रिया अगाडि बढाएको छैन । राजनीतिक संरक्षणका कारण मन्त्रालयले पनि कारवाही गर्न सकेको छैन । अख्तियारले गौतममाथि अकुत सम्पत्ति कमाएको उजुरीका आधारमा पनि अनुसन्धान गरेको छ । सबै उजुरीमा बयान दिइसकेका गौतमले नयाँ बन्ने सरकारको हवाला दिँदै कारवाहीबाट जोगिँदै आएका छन् । अख्तियारले मुद्दा दायर गर्ने तयारी गरेपछि महानिर्देशक गौतमले राजनीतिक लबिइङ सुरु गरेको अख्तियार स्रोतले बतायो ।
अख्तियारमा २०७४ भदौ १ गते पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भ्रष्टनचार तथा नागरिक उड्डयन प्राधिकरणको पदपूर्ति, नियुक्ति तथा पदस्थापनामा भएको जालसाजीका विषयमा उजुरी परेको थियो । त्यस विषयमा गौतमले दुईपटक बयान दिइसकेका छन् । त्यस्तै २०७३ साल जेठ ८ गते कानुनविपरीत हेली एयरलाई पोखरा आधार क्षेत्र बनाएर उडान अनुमति दिएको विषयमा पनि दुईपटक बयान दिइसकेका छन् ।
गौतमले गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि भन्दै लागत लाभ विश्लेषणबिनै अनावश्यक रुपमा जग्गा खरिद गर्दा राज्यलाई २४ अर्ब रुपैयाँ नोक्सान गराएको भन्दै अख्तिायर दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीमा पनि कुनै सफाइ पाएका छैनन् । त्यस्तै बिनाप्रतिस्पर्धा जग्गा हिमालयन एयरलाइन्सलाई दिएपछि पनि उनलाई अख्तियारले सचेत गराउँदै बयान लिइसकेको छ । गौतमले एकैपटक रोक्का गरेको जग्गाको सूचनासमेत तीन पटकसम्म निकालेका जग्गा दलालसँगको मिलेमतोमा मुआब्जामा पनि अनियमिता गरेको आरोप पोखराका जग्गाधनीहरुले लगाएका थिए ।
अख्तियारमा पर्यटन हेर्ने शाखा छुट्टै भएको र उक्त शाखाले गौतममाथि परेको उजुरी माथिल्लो निकायसम्म नल्याएकाले अख्तियारले एक्सन नलिएको अख्तियारका सचिव राजन खनालले बताए । ‘गौतमविरुद्ध धेरै उजुरी परेको छ, अहिले अनुसन्धान चलेको बताउँदै छानबिन र अनुसन्धानपछि अर्काे प्रक्रियामा अख्तियार जान्छ,’ उनले भने । अनुसन्धानकै क्रममा भएकाले अरु बोल्न नमिल्ने उनले बताए ।
महानिर्देशक पदले गौतमको बदमासी छायाँमा
सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को महानिर्देशकबाट गौतमलाई हटाउन खोजेपछि गौतमले विभिन्न लबिइङ गर्दै विषयान्तर गरेपछि उनीमाथि लागेको आरोप र कारवाही ओझेलमा परेको हो । अख्तियारमा अनियमितताका दर्जन उजुरी परेपछि उनलाई विभागिय मन्त्रालयले कारवाही गर्दैं हटाउन खोजेको थियो । तर, निर्वाचनको समयमा निर्वाचन आचारसंहिता लागू भएको भन्दै निर्वाचन आयोगले सहमति दिएन । त्यसपछि गौतमले लबिइङलाई तीव्र पारेका छन् ।
अहिले सरकार कामचलाउ भएको फाइदा उठाउँदै उनले पर्यटन सचिव महेश्वर न्यौपानेलाई समेत प्रलोभनमा पारेको क्यानका एक कर्मचारीले बताए । गौतमले एक ट्राभल व्यवसायीको स्पोन्सरमा न्यौपानेलाई मलेसिया भ्रमण गराई सेटिङ मिलाएपछि न्यौपाने पनि अहिले गौतमलाई कारवाही गर्न हुँदैन भन्ने पक्षमा छन् ।
‘अहिले सचिव न्यौपानेको भूमिका पनि शङ्कास्पद छ, पहिला कारवाही गर्ने पक्षमा हुनुहुन्थ्यो अहिले गौतमको विषयमा अहिले नगरौं भन्नुहुन्छ,’ मन्त्रालयका एक कर्मचारीले भने । सरकार परिवर्तनपछि पनि पर्यटन मन्त्रालयमै सचिव राख्नका लागि गौतमले सेटिङ मिलाउने आश्वासनपछि न्यौपानेले मनस्थिति परिवर्तन गरेको ती कर्मचारीले बताए ।