सिम्रिक र सौर्य एयरलाइन्सको पनि उडान रोक्ने तयारी

नेपाल एयरलाइन्सले ३० करोड रुपैयाँ भुक्तान गर्न बाँकी छ । सिम्रिकले २ करोड र सौर्यले ३ करोड भुक्तान गर्नुपर्ने कार्यालयले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलाई लामो समयदेखि बक्यौता नतिर्ने आन्तरिक एयरलाइन्स कम्पनी सिम्रिक र सौर्य एयरलाइन्सको उडान रोक्नका लागि विमानस्थल कार्यालयले तयारी गरेको छ ।

लामो समयदेखि यात्रु सेवा शुल्क नतिरेका दुई आन्तरिक विमान कम्पनीलाई पुस २४ गतेभित्र बक्यौता रकम नतिरे उडान भर्न नदिने विमानस्थलले जनाएको हो । आर्थिक समस्यामा परेका दुई एयरलाइन्सले विमानस्थललाई ५ करोड रुपैयाँ भुक्तान गर्न बाँकी रहेको कार्यालयले जनाएको छ ।

कार्यालयका महाप्रबन्धक देवानन्द उपाध्यायले पुस २४ गते सबै एयरलाइन्स कम्पनीलाई बक्यौता रकम भुक्तान गर्न भनिएको बताउँदै २४ गतेभित्र नतिर्न एयरलाइन्सलाई उडान रोक्न सकिने बताए । ‘धेरै रकम बाँकी रहेकोमा नेपाल एयरलाइन्सको पनि रहेको छ, सरकारी एयरलाइन्सलाई के गर्ने भन्ने विषयमा छलफल भैरहेको छ,’ उनले भने । कुनै एयरलाइन्स रोक्ने कुनै नरोक्ने भन्ने हुँदैन, सबैलाई एउटै नियम भएको उनले बताए । ‘एयरलाइन्स कम्पनीले किस्तामा रकम तिरेर समय थप्न पनि सक्छन्, त्यसका लागि उनीहरुले निवेदन दिनुपर्छ,’ उनले भने ।

कार्यालयका अनुसार नेपाल एयरलाइन्सले ३० करोड रुपैयाँ भुक्तान गर्न बाँकी रहेको छ । सिम्रिकले २ करोड र सौर्यले ३ करोड भुक्तान गर्नुपर्ने कार्यालयले जनाएको छ ।