सक्रिय हुन थाल्यो मिनी संसद्

बुधबार प्रतिनिधिसभाअन्तर्गतको समितिले बहुवर्षीय ठेक्का लागेका आयोजनाहरुको हालको अवस्था र आयोजना प्रमुखसमेतको विवरण सात दिनभित्र बुझाउन भनेको हो ।

अर्थ समितिले बहुवर्षीय ठेक्का लागेका आयोजना र त्यसअन्तर्गत भएगरेका सम्पूर्ण कामको विवरण पेस गर्न सम्पूर्ण मन्त्रालय र विभागलाई निदेर्शन दिएको छ । बुधबार प्रतिनिधिसभाअन्तर्गतको समितिले बहुवर्षीय ठेक्का लागेका आयोजनाहरुको हालको अवस्था र आयोजना प्रमुखसमेतको विवरण सात दिनभित्र बुझाउन भनेको हो ।

दसैं र तिहारको लामो समय सकिएपछि बसेको अर्थ समतिले बहुवर्षीय ठेक्का लागेका आयोजनामा समेत प्रभाभकारी काम हुन नसकेको भन्दै सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराएको छ । समिति सभापति कृष्णप्रसाद दाहालले बहुवर्षीय ठेक्कामा स्रोत सुनिश्चित भएरनभएको र यथार्थ विवरण पेस गर्न पनि निर्देशन दिए ।

नेकपाका महासचिवसमेत रहेका पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रदेश र स्थानीय तहमा पठाइएका आयोजनामा पर्याप्त स्रोत नभएको भन्दै समितिको ध्यानाकर्षण गराएका छन् । उनले संविधानमा भएको व्यवस्थाअनुकूल हुने गरी आयोजना कार्यान्वयन गराउनुपर्नेमा पनि जोड दिए । आजको बैठकमा सांसदले आर्थिक वर्षको सुरुवातमै ठूलो रकम रकमान्तर भइरहेकाले त्यसको विवरण मागी औचित्य हेर्नुपर्ने बताएका छन् ।