सुन्तला खेतीबाट आत्मनिर्भर

सिम्लेमा अहिले झन्डै ७० कृषक व्यावसायिक सुन्तला खेतीमा लागेका छन् । उता पणेनामा २०० घरधुरी सुन्तला खेतीबाट ५० हजारदेखि १२ लाख रुपैयाँसम्म आम्दानी गरिरहेका छन् । यहाँका युवा वैदेशिक रोजगारीबाट फर्किएर व्यावसायिक सुन्तला खेतीमा लागेका हुन् ।

अर्घाखाँचीको पाणिनी गाउँपालिकाको सिम्ले र पणेना गाउँका बासिन्दा सुन्तला खेतीबाट आत्मनिर्भर बन्दै गएका छन् ।

सिम्लेमा अहिले झन्डै ७० कृषक व्यावसायिक सुन्तला खेतीमा लागेका छन् । उता पणेनामा २०० घरधुरी सुन्तला खेतीबाट ५० हजारदेखि १२ लाख रुपैयाँसम्म आम्दानी गरिरहेका छन् । यहाँका युवा वैदेशिक रोजगारीबाट फर्किएर व्यावसायिक सुन्तला खेतीमा लागेका हुन् । भारतीय सेनाको जागिर छोडेर फर्किएका पणेनाका ७३ वर्षीय हुमनाथ पौडेल अहिले अर्घाखाँचीकै सफल कृषक बनेका छन् । ‘सुन्तला खेतीबाट वार्षिक ६ लाख रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको छ,’ पौडेलले भने । उनको बगैँचामा अहिले ६ सयभन्दा बढी सुन्तलाका बोट छन् । उनले बारी, खेत, खर्कमा सुन्तला खेती गरेका छन् ।

पणेना र पोखराथोकमा सुन्तला खेती फष्टाउँदै गएको छ । व्यावसायिक सुन्तला खेतीमा लागेका सिम्लेका रेवतीराज पौडेलको बगैँचामा झण्डै ४५० सुन्तलाका रूख रहेका छन् । उहाँले वार्षिक रु तीन लाखदेखि रु पाँच लाखसम्म आम्दानी गर्नुहुन्छ । ‘सुन्तला बिक्रीका लागि कुनै समस्या छैन,’ उनले भने । यहाँ उत्पादन भएका सुन्तला प्रतिकिलो ७५ देखि ९० रुपैयाँसम्ममा बिक्री भइरहेको छ । यस वर्ष ४ लाख रुपैयाँआम्दानी हुने उनको विश्वास छ ।
यहाँका किसानले सुन्तलाको नर्सरी राखी बिरुवा बेचेर पनि मनग्य आम्दानी गर्दैआएका छन् । किसानले सुन्तला, कागती, जुनारलगायत बिरुवा बिक्री गर्दैआएका छन् ।