व्यापारबारे पछिल्ला अमेरिकी आरोप चीनलाई ‘स्वीकार्य नहुने’

विश्वका शक्तिशाली अर्थतन्त्र भएका दुई मुलुकका राष्ट्रप्रमुखबीच जी–ट्वान्टी सम्मेलनको अवसरमा महत्वपूर्ण भेटवार्ता हुने चर्चा चलिरहेका समय चीन र अमेरिकाबीच आक्रामक भनाइहरू आइरहेका छन् ।

वासिङ्टनद्वारा गैरकानुनी व्यापार गतिविधिबारे चीनमाथि लगाइएका पछिल्ला आरोपहरू बेइजिङलाई ‘स्वीकार्य नहुने’ चीनले बिहीबार जनाएको छ ।

विश्वका शक्तिशाली अर्थतन्त्र भएका दुई मुलुकका राष्ट्रप्रमुखबीच जी–ट्वान्टी सम्मेलनको अवसरमा महत्वपूर्ण भेटवार्ता हुने चर्चा चलिरहेका समय चीन र अमेरिकाबीच आक्रामक भनाइहरू आइरहेका छन् ।

चीनको व्यापारिक गतिविधिबारे गरिएका पहिलेका अनुसन्धानहरूको अद्यावधिक गर्दै गत मङ्गलबार वासिङ्टनले चीन आफ्ना ‘गलत’ व्यापारिक गतिविधिलाई परिवर्तन गर्न तदारूकता नदेखाएको र पछिल्ला केही महिनायता अझै अविवेकी कार्य गर्न उद्दत बनेको देखिएको बताएको थियो ।

बिहीबार सञ्चारमाध्यमसँगको नियमित भेटघाटमा चीनको वाणिज्य मन्त्रालयले वासिङ्टनको भनाइहरूको खण्डन गरेको छ । मन्त्रालयलका प्रवक्ता गाओ फेङले भने, “वासिङ्टनले तथाकथित अपडेट रिपोर्टको नाममा चीनमाथि विल्कुलै आधारहीन र तथ्यरहित आरोपहरू लगाइएको छ, चीनलाई यो सह्य छैन ।”

चीनले रोबेटिक्स र नवीकरणीय उर्जा क्षेत्रमा विभिन्न गैरकानुनी उपायमार्फत नियन्त्रणमा राख्दै विश्व औद्योगिकिकरणमा प्रभाव जमाउन खोजेको अमेरिकी अधिकारीहरूले दाबी गरेका थिए । अधिकारीहरूले चीनले आफ्नो भूमिमा रहेका अमेरिकी कम्पनीहरूलाई दबाबमा पारेर अमेरिकी बौद्धिक सम्पत्तीको आरोप लगाएका थिए ।

यसै विषयलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले चीनबाट अमेरिका निर्यात गरिने दुई खर्ब ५० अर्ब अमेरिकी डलर चिनियाँ सामानमा २५ प्रतिशत करवृद्धि गरेको थियो । बदलामा चीनले पनि अमेरिकाबाट चीन ल्याइने एक खर्ब अमेरिकी डलर बराबरको सामानमा करवृद्धि गरेको थियो ।

गाओले सञ्चारकर्मीसँग भने, “हामी चाहन्छौँ अमेरिकाले दुई पक्षीय आर्थिक र व्यापारिक सम्बन्धलाई विगार्ने किसिमका भनाइ तथा गतिविधिलाई रोकोस् र सम्बन्धलाई पूरानो अवस्थामा ल्याउन रचनात्मक धारणाको अवलम्बन गरोस् ।”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनपिङसँग नोभेम्बर अन्त्यमा अर्जेन्टिनामा हुने जी–ट्वान्टी शिखर सम्मेलनका अवसरमा व्यापार विवादबारे छलफल गर्ने कार्यक्रम छ । रासस/एएफपी