२४ घण्टाभित्र वाइडबडीको कागजत पेस गर्छु, पर्यटनमन्त्री अधिकारी

वाइडबडी खरिदको विषयमा विभिन्न टीका टिप्पणीहरु सार्वजनिक भएको भन्दै शुक्रबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै अधिकांश सदस्यहरुले समितिलाई तत्काल कागजात उपलब्ध गराउन निर्देशन दिएपछि मन्त्री अधिकारीले २४ घण्टाभित्रै उपलब्ध गराउने बताएका हुन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले वाइडबडी खरिदको सम्पूर्ण कागजात २४ घण्टाभित्र संसदीय समितिलाई बुझाउने प्रतिबद्धता जनाएका छन् ।

वाइडबडी खरिदको विषयमा विभिन्न टीका टिप्पणीहरु सार्वजनिक भएको भन्दै शुक्रबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै अधिकांश सदस्यहरुले समितिलाई तत्काल कागजात उपलब्ध गराउन निर्देशन दिएपछि मन्त्री अधिकारीले २४ घण्टाभित्रै उपलब्ध गराउने बताएका हुन् ।

समितिको बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वाइडबडी जहाज भित्रिएको ३ महिनामै ग्राउन्डेड हुनु दुर्भाग्यपूर्ण भएको बताए । कुनै पनि सामग्री खरिद गर्दा बिल–भर्पाइ अनिवार्य रुपमा लिने गरेको बताउँदै यति ठूलो रकममा खरिद गरिएको जहाजको कुनै पनि कागजात सार्वजनिक नहुँदा जनतामा भ्रम फैलिएकाले समितिलाई सो कागजात पेस गर्न निर्देशन दिएका थिए ।

समितिका सदस्य दिव्यमणि राजभण्डारीले अर्बौं लगानी गरेर ल्याएको वाइडबडी खरिदमै प्रश्न उठेकाले तत्कालै पर्यटन मन्त्रालयले यसको जवाफ दिनु पर्ने माग राखेका थिए । उनले विमान खरिदमा निगमलाई घोटालाको आरोप लगाइएको भन्दै समितिले उपसमिति बनाएर छानबिन गर्नसमेत अनुरोध गरेका छन् । यस्तै अर्का सदस्य अग्निप्रसाद सापकोटाले विमान खरिदमा उठेका प्रश्नलाई पर्यटन मन्त्रालयलाई सामान्य रुपमा नलिन आग्रह गरेका छन् ।

नेपाल वायुसेवा निगमले गत असार र साउनमा गरी २ ओटा वाइडबडी विमान भित्र्याएको थियो । निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले विमान खरिदको सम्पूर्ण कागजात रहेको बताउँदै संसदीय समितिलाई बुझाउन तयार रहेको बताए । विमान खरिदका बेला सम्पूर्ण प्रक्रिया पूरा गरेर ल्याइएको बताउँदै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई पहिला नै बुझाइएको उनको भनाइ छ ।