उद्योगीद्वारा चिनीको तीन थरी मूल्य प्रस्ताव

योजना आयोग स्रोतका अनुसार उद्योगीले सरकारले ४ सय ६५ रुपैयाँ प्रतिक्विन्टल उखुको मूल्य तोके चिनीको प्रतिकेजी ७६ रुपैयाँ पर्छ । त्यसैगरी ३ सय ८० रुपैयाँ प्रतिक्विन्टल उखुको मूल्य निर्धारण गरे चिनीको मूल्य ६६ रुपैयाँ प्रतिकिलो चिनी पर्छ ।

काठमाडौं : नयाँ उखु क्रसिङ गर्ने बेला नजिकिएपछि चिनी उद्योगीले सरकारलाई तीन थरी मूल्य प्रस्ताव गरेका छन् । चिनीको मूल्यमा लामो समयदेखि विवाद बढ्दै गएपछि राष्ट्रिय योजना आयोगले उद्योगीसँग नयाँ मूल्य प्रस्ताव गर्न आग्रह गरेको थियो । सोहीअनुसार उद्योगीले तीन थरी मूल्य प्रस्ताव गरेका हुन् ।

योजना आयोग स्रोतका अनुसार उद्योगीले सरकारले ४ सय ६५ रुपैयाँ प्रतिक्विन्टल उखुको मूल्य तोके चिनीको प्रतिकेजी ७६ रुपैयाँ पर्छ । त्यसैगरी ३ सय ८० रुपैयाँ प्रतिक्विन्टल उखुको मूल्य निर्धारण गरे चिनीको मूल्य ६६ रुपैयाँ प्रतिकिलो चिनी पर्छ ।

सरकारले ३ सय ५५ रुपैयाँ प्रतिक्विन्टल उखुको मूल्य निर्धारण गरे चिनीको प्रतिकेजी मूल्य ६३ रुपैयाँ पर्ने प्रस्ताव गरेका छन् । चिनीको मूल्यमा निरन्तर समस्या आएपछि योजना आयोगले केकसरी मूल्य निर्धारण गर्न सकिन्छ भनेर उद्योगीसँग रायसुझाव मागेको हो । उद्योगीले नेपालको उखु अन्य देशको उखुको तुलनामा एकदमै महँगो भएको र सोही कारण चिनीको मूल्य बढी भएको बताउँदै आएका छन् ।

‘विश्व बजारमा चिनीको मूल्य ओरालो लाग्दा उखुको मूल्य पनि सोहीअनुसार ओरालो लाग्छ,’ एक उद्योगीले भने, ‘तर, नेपालमा उखुको मूल्य निर्धारण भएपछि त्यो मूल्य फिक्स हुन्छ । मूल्य घट्दा घट्नुपर्ने र बढ्दा बढ्नुपर्ने हो । त्यो हुनेबित्तिकै चिनीमा देखिएको समस्या समाधान हुन्छ ।’

सरकारले र लेखा समितिकै चिनीको मूल्य कति तोक्ने भन्नेमा विवाद देखिएको छ । सरकारले ७० रुपैयाँ प्रतिकिलो चिनीको मूल्य तोकेको थियो । तर लेखा समितिले ६३ रुपैयाँ प्रतिकेजीभन्दा बढी चिनी बेच्न नपाइने बताएपछि चिनीको मूल्यमा विवाद बढेकाे हाे ।

त्यही विवादलाई दीर्घकालीन रुपमा समाधान गर्न उद्योगीसँग अग्रिम मूल्य माग गरिएको योजना आयोगका सदस्य डा. दिलबहादुर गुरुङले जानकारी दिए । ‘उद्योगीले फरकफरक मूल्य निर्धारण गरेर प्रस्ताव गर्नुभएको छ,’ उनले भने, ‘त्यसलाई अध्ययन गरेर उखुको मूल्य नयाँ मूल्य निर्धारण हुन्छ ।’

नयाँ उखु नकिन्ने पक्षमा उद्योगी

गोदाममा ५० प्रतिशत चिनी थन्किएर बसेको र सोही चिनी बिक्री नभएकाले किसानको भुक्तानी गर्न समस्या भएपछि उद्योगले यस पटक उखु नकिन्ने पक्षमा छन् ।

गतवर्ष एक लाख ७८ हजार टन चिनी बनाएका थिए । त्यसमध्ये ५० प्रतिशत चिनी गोदाममै थन्किएकाले किसानलाई भुक्तानी गर्न समस्या भएको निष्कर्ष निकाल्दै उखु नकिन्ने पक्षमा देखिएका हुन् । ‘गोदाममा अहिले पनि ३ अर्ब रुपैयाँबरारबको चिनी थन्किएर बसको छ । यो चिनी बिक्री नभई नयाँ उखु क्रसिङ के गर्नु ?’ एक उद्योगीले भने, ‘लेखा समिति र सरकारको मूल्यमा जुहारी चलेकाले पसलेहरुले चिनी बेच्न डराइरहेका छन् अनि नयाँ उखु कसरी खरिद गर्ने ?’

६३ रुपैयाँमा चिनी चाहिए उखुको मूल्य ३ सय ५५

कारखानापछिको चिनीको मूल्य ६३ रुपैयाँ तोक्ने हो भने सरकारले उखुको मूल्य ३ सय ५५ रुपैयाँ तोक्नुपर्ने उद्योगीहरू बताउँछन् । ‘उद्योगीलाई चाहिँ ६३ रुपैयाँमा प्रतिकिलो चिनी उपलब्ध गराउन बाध्य बनाउने तर उखुको मूल्य घटाउन नसक्ने ?’, उनीहरूको प्रश्न छ ।

४ सय ६५ रुपैयाँमा उखु किनेर ६३ रुपैयाँ चिनी बेच्न सकिन्न

अहिलको मूल्यमा उखु किनेर कारखानापछिको मूल्य ६३ रुपैयाँ राख्न नसकिने उनीह बताउँछन् । ‘सरकारले दुवै क्षेत्रलाई हेर्नुपर्यो । किसानलाई हेर्नुपर्यो, हामी उद्योगीलाई हेर्नुप¥यो । किसानसँग महँगो मूल्यमा उखु किनेर घाटा खाएर चिनी बेच्न सकिन्न,’ उनीहरूले भने, ‘दुई ओटै मूल्यलाई समायोजन गर्न आवश्यक छ ।’