बाँके र बर्दिया जिल्लामा ५१ हजार हेक्टर जमिन बाह्रै महिना सिँचाइ गर्ने लक्ष्य लिएको आयोजनाको बाँकी ३ किमी सुरुङ निर्माण गर्न बाँकी छ ।
काठमाडाैं : भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको १२.३ किलोमिटर सुरुङमार्गमध्ये साढे ९ किलोमिटर सुरुङ खन्ने काम सम्पन्न भएको छ । बाँके र बर्दिया जिल्लामा ५१ हजार हेक्टर जमिन बाह्रै महिना सिँचाइ गर्ने लक्ष्य लिएको आयोजनाको बाँकी ३ किमी सुरुङ निर्माण गर्न बाँकी छ ।
५ महिनाभित्र बाँकी रहेको ३ किमी सुरुङको ब्रेक थु्र गर्ने लक्ष्यअनुसार आयोजनाका निर्माण कार्य तीव्ररुपमा भइरहेका आयोजना प्रमुख सञ्जिव बरालले बताए । ‘९.३ किलोमिटर सुरुङ खन्ने काम सकिएको छ’ उनले भने, ‘यही गतिमा काम भयो भने ५ महिनाभित्र सुरुङको ब्रेक थु्र हुन्छ ।’ उनले सुरुङ निर्माणको झन्डै ८० प्रतिशत काम सकिएको बताए ।
यो आयोजनामा पहिलो पटक टनेल बोरिङ मेसिन(टीबीएम) प्रयोग गरी सुरुङ खन्न थालिएको हो । चीनमा निर्मित अमेरिकी प्रविधिको उक्त मेसिनबाट सुरुङ खन्दा छिटो हुने भएकाले तोकिएकै समयमा परियोजना निर्माण हुने आयोजना प्रमुख बरालले बताए ।
सुरुङ मार्गको ब्रेक थु्र भएपश्चात् सुरुङको ढलान र फिनिसिङ गर्ने काम ३ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य आयोजनाको छ । यो बहुउद्देश्यीय आयोजनाअन्तर्गत ४८ मेगावाटको भेरी बबई डाइभर्सन जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अगाडि बढाइने आयोजनाका सिनियर डिभिजनल हाइड्रो जियोलोजिस्ट कृष्णप्रसाद उपाध्यायले बताए । उनले जलविद्युत् आयोजनाको डिजाइन र लागत अनुमान व्यस्थापन गर्ने काम अन्तिम चरणमा रहेको बताए ।
राष्ट्रिय गौरवको यस आयोजनाको निर्माण कार्य आगामी सन् २०२० मार्चसम्म सम्पन्न गर्ने लक्ष्य छ । टनेलतर्फ आयोजनाको कुल लागत १० अर्ब ५६ करोड रुपैयाँ अनुमान गरिएको छ । स्वदेशी लगानीमा निर्माण हुने उक्त आयोजनाको कुल लागत १६ अर्ब रुपैयाँ अनुमान गरिए पनि लागत बढेर ३३ अर्बसम्म पुग्ने देखिएको आयोजना प्रमुख बरालले बताए ।