गत वर्षको पहिलो ३ महिनामा रेमिट्यान्स वृद्धि दर २ दशमलव ६ प्रतिशत थियो । खासगरी नेपाली रुपैयाँको तुलनामा अमेरिकी डलर बलियो हुँदै गएपछि नेपाल भित्रिने रेमिट्यान्स बढेको हो ।
काठमाडौं : पछिल्लो तीन महिनामा २ खर्ब ४२ अर्ब १७ करोड रुपैयाँबराबर रेमिट्यान्स भित्रिएको छ । यस्तो रेमिट्यान्स गत वर्षको सोही अवधिको तुलनामा ३७ दशमलव ३ प्रतिशतले बढेको छ । गत वर्षको पहिलो ३ महिनामा रेमिट्यान्स वृद्धि दर २ दशमलव ६ प्रतिशत थियो । खासगरी नेपाली रुपैयाँको तुलनामा अमेरिकी डलर बलियो हुँदै गएपछि नेपाल भित्रिने रेमिट्यान्स बढेको हो ।
यद्यपि यस अवधिमा रेमिट्यान्स वृद्धि दर डलरमा पनि बढेको छ । गत वर्ष ३ महिनामा ६ दशमलव ६ प्रतिशतले रेमिट्यान्स बढेकोमा यस वर्षको ३ महिनामा २४ दशमलव ५ प्रतिशतले बढेको छ । यता, रेमिट्यान्स बढे पनि वैदेशिक रोजगारीमा जानेको सङ्ख्या भने ह्वात्तै घटेको छ । पछिल्लो तीन महिनामा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या ३६ दशमलव ७ प्रतिशतले घटेको छ । जबकि अघिल्लो वर्षको तीन महिनामा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या २ दशमलव ६ प्रतिशतले घटेको थियो ।
निक्षेपभन्दा कर्जा तीन गुणा वृद्धि
वित्तीय क्षेत्रमा निक्षेप सङ्कलनभन्दा कर्जा प्रवाहको रफ्तार तीव्र देखिएको छ । चालू आर्थिक वर्षको तीन महिनामा बैङ्क तथा वित्तीय संस्थाले २ दशमलव ४ प्रतिशतले बढाउँदा कर्जा भने ७ दशमलव २ प्रतिशतले बढाएका छन् । गत वर्षको सोही अवधिमा यस्तो निक्षेप ३ दशमलव ८ प्रतिशत र कर्जा ४ दशमलव ६ प्रतिशतले बढेको थियो ।
कर्जा विस्तारको अनुपात हेर्ने हो भने वाणिज्य बैङ्कभन्दा विकास बैङ्कहरु अघि देखिएका छन् । बैङ्कहरुले ७ दशमलव २ प्रतिशतले कर्जा बढाउँदा विकास बैङ्कहरुले भने ८ प्रतिशतले बढाएका छन् । तर, वित्त कम्पनीहरुको कर्जा विस्तार भने ३ दशमलव ८ प्रतिशतमा सीमित भएको छ ।
वित्तीय क्षेत्रमा अधिक कर्जाको माग आएपछि बैङ्कहरुले निक्षेप सङ्कलन कम भएपनि कर्जा लगानी बढाएका छन् ।
खासगरी मौद्रिक नीतिले समग्रमा निक्षेप तथा कर्जाको ब्याजदर घटाउने रणनीति अख्तियार गरेपनि सतहमा भने ब्याजदरमा खासै घट्न सकेको छैन । कतिपय अवस्थामा त कर्जाको ब्याजदर अझ बढेको छ । निक्षेप तथा कर्जामा आफ्नो बर्चस्व रहेको वाणिज्य बैङ्कहरुको छाता सङ्गठन नेपाल बैङ्कर्स सङ्घले संस्थागत तथा व्यक्तिगत निक्षेपमा दिइने ब्याज सीमा तोकिए पनि त्यसको प्रभावकारी कार्यान्वयन नहुँदा समस्या ज्यूँको त्यूँ देखिन्छ ।
राष्ट्र बैङ्कले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १७ दशमलव ७ प्रतिशत र कर्जाको वृद्धिदर २५ दशमलव ५ प्रतिशत छ ।